
अमेरिकाको वासिङ्टन राज्यस्थित टाकोमा शहरमा रहेको ‘फस हाई स्कुल’ (माध्यमिक बिद्यालय ) भित्र बिहीबार दिउँसो अचानक भएको चक्कु प्रहारमा परी कम्तीमा ६ जना घाइते भएका छन्। यो घटनापछि विद्यालय परिसरमा ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरू परिचालन गरिएको छ।
अधिकारीहरूका अनुसार घाइते हुनेहरूमा चार जना विद्यार्थी र एक जना विद्यालयका सुरक्षाकर्मी रहेका छन्। आक्रमण गर्ने संदिग्ध व्यक्तिलाई पनि घाइते अवस्थामा अस्पताल लगिएको छ। टाकोमा दमकल विभागकी प्रवक्ता चेल्सी सेफर्डका अनुसार घाइतेमध्ये चार जनाको अवस्था निकै चिन्ताजनक छ भने अन्य दुई जनाको अवस्था सामान्य छ।

फक्सन्यूजले जनाए अनुसार घटना कसरी र किन भयो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन। आक्रमणकारीले चक्कु वा अन्य कुनै तिखो हतियार प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको छ। आक्रमण सुरु भएलगत्तै विद्यालयलाई पूर्ण रूपमा बन्द (लकडाउन) गरिएको थियो ।
प्रहरी र आकस्मिक सेवाका टोलीहरूले विद्यालयलाई आफ्नो नियन्त्रणमा लिएका छन्। डराएका विद्यार्थी र चिन्तित अभिभावकहरूलाई भेट गराउनका लागि विद्यालयमै एउटा सुरक्षित स्थान बनाइएको छ। प्रहरीले अहिलेसम्म आक्रमण गर्ने व्यक्ति सोही विद्यालयको विद्यार्थी हो वा बाहिरको व्यक्ति भनेर यो सार्वजनिक गरेको छैन ।
अहिले प्रहरीले यस घटनाबारे गहिरो अनुसन्धान गरिरहेको छ। हिंसात्मक घटना भएपछि स्थानीय समुदाय निकै त्रसित र दुःखी बनेको छ। प्रशासनले घटनाको थप विवरण आउन बाँकी रहेको बताएको छ।

प्रतिक्रिया