
प्रख्यात अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्सलाई बिहीबार क्यालिफोर्नियामा मादक पदार्थ र लागूऔषध सेवन गरी गाडी चलाएको आरोपमा मुद्दा दर्ता गरिएको छ। भेन्टुरा काउन्टी सरकारी वकिलको कार्यालयका अनुसार ४४ वर्षीया यी स्टारलाई ‘मिसडिमिनर’ (कम गम्भीर प्रकृतिको अपराध) अन्तर्गत मुद्दा चलाइएको हो।
घटना गत मार्च ४ तारिखको हो। क्यालिफोर्निया राजमार्ग गस्ती टोलीका अनुसार ब्रिट्नीले आफ्नो कालो रङको बीएमडब्ल्यू गाडी निकै तीव्र र अनियन्त्रित गतिमा चलाइरहेकी थिइन्। उनलाई राजमार्गमा रोकेर जाँच गर्दा उनी नशामा रहेको पाइएको थियो। प्रहरीले उनलाई तत्कालै पक्राउ गरी जेल लगेको थियो, तर भोलिपल्टै उनी धरौटीमा रिहा भएकी थिइन्।
प्रहरीको अनुसन्धानपछि वकिलहरूले उनलाई मादक पदार्थ र कम्तीमा एक प्रकारको लागूऔषध मिसाएर सेवन गरेको अभियोग लगाएका छन्। ब्रिट्नीका प्रतिनिधिले यो कार्य “अक्षम्य” भएको बताएका छन्। उनले अहिले स्वेच्छाले सुधार केन्द्रमा भर्ना भएर आफ्नो समस्या समाधान गर्ने प्रयास गरिरहेकी छिन्।
अदालतमा यो मुद्दाको सुनुवाइ आगामी सोमबार हुनेछ। ब्रिट्नीको पहिले यस्तो कुनै अभिलेख (रेकर्ड) नभएको र यस पटकको घटनामा कसैलाई चोटपटक वा दुर्घटना नभएकाले उनलाई केही सहुलियत मिल्न सक्ने बताइएको छ। उनलाई एक वर्षको परीक्षण काल (प्रोबेसन), जरिवाना र सचेतना कक्षा लिनुपर्ने सजाय हुन सक्ने एपीले जनाएको छ ।
ब्रिट्नी स्पेयर्स सन् १९९० र २००० को दशककी विश्वप्रसिद्ध गायिका हुन्। उनले ‘टक्सिक’ र ‘बेबी वान मोर टाइम’ जस्ता चर्चित गीतहरू गाएकी छिन्। लामो समयसम्म आफ्नो बुबाको कानुनी नियन्त्रण (कन्जरभेटरसिप) मा रहेकी ब्रिट्नी सन् २०२१ मा मात्र स्वतन्त्र भएकी थिइन्। पछिल्ला वर्षहरूमा उनले गायन क्षेत्रबाट विश्राम लिएकी छिन् र आफ्नै जीवनका बारेमा ‘द वुमन इन मी’ नामक पुस्तक पनि लेखेकी छिन्।
प्रतिक्रिया