
इरानले शनिबारदेखि आफ्नो दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सम्मानमा छ दिन लामो सार्वजनिक अन्त्येष्टि कार्यक्रम सुरु गरेको छ।
सरकारी दूरदर्शन (टेलिभिजन) अनुसार राजधानी तेहरानमा बिहानैदेखि शोक सभाहरू सुरु भएका छन् र अन्त्येष्टि यात्रा इराकसम्म पुगेर अन्त्य हुनेछ।
तेहरानको विशाल ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा हजारौँ मानिसहरू बिहानैदेखि भेला भएका थिए। उनीहरू रातो झण्डा बोकेर आएका थिए, जुन शिया इस्लाममा बदला लिने संकेत मानिन्छ। भीडले “अमेरिकालाई मृत्यु होस्” र “बदला, बदला” जस्ता नाराहरू लगाएका थिए।
सरकारी अधिकारीहरूले अनुमान अनुसार यस अन्त्येष्टिमा १ करोड ५० लाखदेखि २ करोडसम्म मानिसहरू सहभागी हुन सक्छन्, जुन इरानको इतिहासकै सबैभन्दा ठूलो राज्य अन्त्येष्टि बन्न सक्ने बताइएको छ।
अन्त्येष्टि स्थलमा पुगेपछि मानिसहरू छाती पिट्दै, आँसु झार्दै र धार्मिक गीतहरू गाउँदै श्रद्धाञ्जली अर्पण गरिरहेका थिए। केहीले भने, “हामी यहाँ अन्त्येष्टिका लागि होइन, बदला लिन आएका हौँ,” भन्दै आक्रोश व्यक्त गरे।
सिविएसन्यूजका अनुसार अन्त्येष्टिमा सहभागी १८ वर्षका विद्यार्थी हमिदरेजा शाबानीले भने, “हामी हाम्रो नेताको रगतको बदला लिन उठ्नुपर्छ।”
यसैबीच, अमेरिका–इरान सम्बन्ध पनि तनावपूर्ण बनेको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई ४ को भाषणमा इरानबारे टिप्पणी गर्दै आफूहरूले “इरानमाथि ठूलो प्रहार गरेको” बताएका थिए। उनले व्यंग्य गर्दै इरानलाई अन्त्येष्टिका लागि एक हप्ता समय दिएको दाबी पनि गरे।
अहिले अमेरिका र इरानबीचको वार्ता रोकिएको छ। कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूका अनुसार, अन्त्येष्टि सकिएपछि मात्र वार्ता पुनः सुरु हुने सम्भावना छ।
अन्त्येष्टिसँगै क्षेत्रीय तनाव पनि बढ्दै गएको छ। इरानका उप–विदेशमन्त्री काजेम घरीबाबादीले फ्रान्स र बेलायतलाई चेतावनी दिएका छन्। उनले हर्मुज जलमार्गमा विदेशी सैन्य गतिविधि अस्वीकार्य हुने बताएका छन्।
होर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हो। इरानले भविष्यमा जहाजहरूबाट शुल्क उठाउने योजना पनि अघि सारेको छ, जसले अन्तर्राष्ट्रिय विवाद बढाएको छ।
ओमान र अमेरिका भने यस जलमार्गलाई निःशुल्क र सुरक्षित राख्नुपर्ने पक्षमा छन्।
प्रतिक्रिया