
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको २५०औँ स्वतन्त्रता दिवस वर्षगाँठको औपचारिक सुरुवात साउथ डकोटास्थित माउन्ट रशमोर राष्ट्रिय स्मारकबाट विशेष सम्बोधन गर्दै गरेका छन्।
उनले आफ्नो भाषणमा अमेरिकी संस्कृति, स्वतन्त्रता र देशप्रेमको खुलेर प्रशंसा गर्दै देशभित्र फेरि “ साम्यवादी (कम्युनिस्ट )विचारधाराको खतरा” बढ्दै गएको दाबी गरेका छन्।
अमेरिकाका चार पूर्वराष्ट्रपतिहरूको विशाल शिलामूर्तिको पृष्ठभूमिमा बोल्दै ट्रम्पले अमेरिकी इतिहास र मूल्यहरूलाई कमजोर बनाउन खोज्ने “कट्टरपन्थी” र “चरमपन्थी” समूहप्रति आलोचना गरे। उनका अनुसार केही नयाँ आप्रवासीसहित केही व्यक्तिहरूले अमेरिकाको जीवनशैली र मूल्यसँग मेल नखाने विचार बोकेको आरोप लगाए।
ट्रम्पले भाषणका क्रममा भने, “तपाईं साम्यवादी (कम्युनिस्ट )हुन सक्नुहुन्छ, वा देशभक्त हुन सक्नुहुन्छ। दुवै एकैपटक हुन सक्दैन।” उनले अमेरिकामा जन्मिनु अनिवार्य नभए पनि अमेरिकालाई माया गर्नु र यहाँको संस्कृति तथा उपलब्धिको सम्मान गर्नु आवश्यक रहेको बताए।
राष्ट्रपतिले आगामी मध्यावधि निर्वाचनको चर्चा गर्दै रिपब्लिकन पार्टी(दल)लाई सफल बनाउन अमेरिकी संसदको फिलिबस्टर नियम हटाउन र सेभ अमेरिका एक्ट( अमेरिकी सुरक्षा ऐन)पारित गर्नुपर्ने बताए।
प्रस्तावित यस कानुनअनुसार मतदानका लागि नाम दर्ता गर्दा अमेरिकी नागरिक भएको प्रमाण र मतदान गर्ने दिन वैध तस्विरसहितको परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिने उनको भनाइ थियो।
ट्रम्पले अमेरिकाको २५०औँ वर्षलाई “ऐतिहासिक र गौरवपूर्ण अवसर” भन्दै देशको संस्कृति र स्वतन्त्रता एकअर्कासँग जोडिएको बताए। उनले भने, “अमेरिकी संस्कृति बिना अमेरिकी स्वतन्त्रता सम्भव छैन, र अमेरिकी जनताबिना अमेरिकाको स्थापना सम्भव हुने थिएन।”
भाषणको अन्त्यतिर ट्रम्पले अमेरिकीहरूको स्वतन्त्रताको भावना, धार्मिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र संविधानले दिएको हतियार राख्ने अधिकारको समेत प्रशंसा गरे। उनले अमेरिकाको इतिहास, संस्कृति र राष्ट्रिय एकतालाई जोगाउन सबै नागरिक एकजुट हुनुपर्ने सन्देश दिए।
प्रतिक्रिया