
वासिङ्टन डीसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजा र रानीको सम्मानमा एक ठूलो व्यापारिक घोषणा गरेका छन् ।
भर्खरै ह्वाइट हाउसको भ्रमण सकेर स्वदेश फर्कन लागेका बेलायती राजपरिवारको सम्मानमा ट्रम्पले ‘ह्वीस्की’ व्यापारमा लगाइएका पुराना कर र प्रतिबन्धहरू हटाउने निर्णय गरेका हुन् ।
सामाजिक सञ्जालमा यो जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन् , अब स्कटल्याण्डको ह्वीस्की उद्योग र अमेरिकाको केन्टकी राज्यको ‘बोर्बन’ (एक प्रकारको रक्सी) उद्योगले मिलेर काम गर्न सक्नेछन्। यी दुवै क्षेत्रका लागि यो व्यवसाय निकै महत्त्वपूर्ण मानिन्छ।
लामो समयदेखि दुवै देशका व्यापारीहरूले यो प्रतिबन्ध हटाउन माग गरिरहेका थिए। विशेष गरी ह्वीस्की भण्डारण गर्न प्रयोग गरिने ‘काठका ड्रम’ ढॅवागको व्यापारमा ठूलो समस्या थियो। अब यो अवरोध हटेपछि दुई देशबीचको व्यापारिक सम्बन्ध अझ बलियो हुने विश्वास गरिएको छ।
ट्रम्पका अनुसार यो काम धेरै समयदेखि कसैले गर्न सकेका थिएनन्। तर बेलायती राजा र रानीको अनुरोधलाई सम्मान गर्दै उनले यो निर्णय लिएका हुन् । ट्रम्पले लेखेका छन्, राजा र रानीले मलाई यस्तो काम गर्न प्रेरित गर्नुभयो जुन अहिलेसम्म कसैले गर्न सकेको थिएन। उहाँहरुलाई अमेरिकामा स्वागत गर्न पाउनु हाम्रा लागि ठूलो सम्मानको कुरा हो।”
यस निर्णयले अन्तर्राष्ट्रिय व्यापारमा नयाँ उत्साह थपेको छ। अब स्कटल्याण्डको प्रसिद्ध ह्वीस्की र अमेरिकाको केन्टकीमा बन्ने पेय पदार्थहरू बिना कुनै झन्झट एकअर्काको देशमा आयात-निर्यात हुन पाउनेछन्।
यसले दुवै देशका किसान र उद्योगीहरूलाई फाइदा पुग्नेछ।
प्रतिक्रिया