
इरानका सर्वोच्च नेता आयतोल्लाह मोज्तवा खामेनीले बिहीबार एक चुनौतीपूर्ण सम्बोधन गर्दै आफ्नो देशको आणविक र क्षेप्यास्त्र(मिसाइल )क्षमताको रक्षा गर्ने दृढ संकल्प व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई हमला र नयाँ सम्झौतामार्फत इरानको यी शक्तिहरूलाई कमजोर बनाउन खोजिरहेको बेला खामेनीको यस्तो भनाइ आएको हो।
सरकारी दूरदर्शन(टेलिभिजन) मार्फत सार्वजनिक गरिएको सन्देशमा खामेनीले भने , फारसको खाडीमा अमेरिकीहरूको सही ठाउँ भनेको “त्यहाँको पानीको पिँध” मात्र हो।
उनले अब यस क्षेत्रको इतिहासमा एक “नयाँ अध्याय” लेखिन लागेको पनि दाबी गरे । आफ्ना पिताको मृत्युपछि सर्वोच्च नेता बनेका खामेनी सार्वजनिक रूपमा नदेखिए पनि उनको यो सन्देशले युद्धको खतरालाई थप बढाएको छ।
एपिका अनुसार अहिले इरानको अर्थतन्त्र निकै कमजोर बनेको छ। अमेरिकी नौसेनाले समुद्रमा नाकाबन्दी गरेर इरानी तेलका जहाजहरूलाई रोकिदिएपछि त्यहाँको तेल उद्योग संकटमा परेको छ। इरानले पनि जवाफमा विश्वकै महत्वपूर्ण समुद्री मार्ग ‘हर्मुज जलडमरू’ लाई ठप्प पार्ने प्रयास गरिरहेको छ। संसारभरि खपत हुने कच्चा तेलको पाँचौँ हिस्सा यही बाटो भएर ढुवानी हुन्छ।
यो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रति ब्यारेल १२६ डलरसम्म पुगेको छ। तेलको मूल्य बढ्दा संसारभरका मानिसहरूको भान्सा र यातायात महँगो हुने डर बढेको छ। यही दबाबका कारण राष्ट्रपति ट्रम्पले आफ्ना मित्र राष्ट्रहरूलाई तेल र ग्यास निर्यात गर्न सहज होस् भनी यो समुद्री बाटो खुलाउने नयाँ योजना ल्याउने तयारी गरि रहेको एपिले समाचारमा उल्लेख गकेको छ।
प्रतिक्रिया