
बुधबार बिहान अमेरिकाको सान फ्रान्सिस्कोबाट सान डिएगोका लागि उडेको युनाइटेड एयरलाइन्स(बिमान)को जहाज एक मानवरहित विमान (ड्रोन) सँग ठोकिनबाट जोगिएको छ। अवतरणको तयारीमा रहेको बेला जहाजको नजिकै मानव रहित यान देखिएपछि बिमान चालकहरूले तुरुन्तै सजकता अपनाएका थिए।
युनाइटेड एयरलाइन्सको उडान संख्या१९८० सान डिएगो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनै लाग्दा करिब ४,००० फिटको उचाइमा थियो। त्यही बेला बिमान चालकले जहाजभन्दा १,००० फिट तल एउटा सानो रातो रङको वस्तु (ड्रोन) उडिरहेको देखे। उनले तुरुन्तै हवाई यातायात नियन्त्रक( एयर ट्राफिक कन्ट्रोल)लाई यसबारे जानकारी गराए। विमानमा ४९ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए।
खतराको संकेत पाए पनि विमान सुरक्षित रूपमा विमानस्थलमा अवतरण भयो। सबै यात्रुहरू सकुशल बाहिर निस्किए। विमानको प्राविधिक टोलीले जहाजको राम्ररी जाँच गर्दा कुनै पनि क्षति नभएको पुष्टि गरेको छ।
विमानस्थल आसपास वा जहाज उड्ने आकाशमा मानव रहित यान (ड्रोन )उडाउनु निकै खतरनाक र गैरकानुनी कार्य हो। नियम अनुसार निजी मानव रहित यान (ड्रोन)हरूलाई ४०० फिटभन्दा माथि उडाउन पाइँदैन। तर, यो घटनामा मानव रहित यान (ड्रोन )निकै माथि (३,००० फिटको उचाइमा) उडिरहेको पाइएको छ।
सन् २०२५ मा मात्रै अमेरिकामा विमानस्थल वरपर १,८५० भन्दा बढी मानव रहित यान ( ड्रोन) देखिएका विवरणहरू आएका थिए। यस्ता मानव रहित यानहरू जहाजसँग ठोकिएमा ठूलो दुर्घटना हुन सक्छ र धेरैको ज्यान जान सक्छ। मानव रहित यानका कारण विमान दुर्घटना गराउने व्यक्तिलाई कडा जेल सजाय र जरिवाना हुने व्यवस्था छ।
प्रतिक्रिया