बेलायती राजा र रानीको अमेरिका भ्रमणको भव्य समापन: अन्तिम दिन भर्जिनियामा उत्सव

न्यूयोर्कको भव्य रात्रीभोजदेखि भर्जिनियाको उद्यानसम्म: बेलायती राजपरिवारको व्यस्त अमेरिका यात्रा

इनेप्लिज २०८३ वैशाख १७ गते १०:२८ मा प्रकाशित

बेलायतका राजा चार्ल्स र रानी क्यामिलाको चार दिने ऐतिहासिक अमेरिका भ्रमण बिहीबार भर्जिनिया राज्यको यात्रासँगै समापन हुँदैछ। ह्वाइट हाउसमा आयोजित एक विशेष बिदाइ समारोहपछि उनीहरू भर्जिनिया प्रस्थान गरेका छन्।

भर्जिनियामा राजा र रानीले अमेरिकाको २५० औँ स्थापना दिवस (जन्मदिन) को अवसरमा आयोजना गरिएको एक विशेष उत्सवमा भाग लिनेछन्। यसका साथै, उनीहरूले त्यहाँको एउटा सुन्दर राष्ट्रिय निकुञ्ज र घोडा दौड हुने विशेष कृषिकेन्द्र (फार्म)को पनि भ्रमण गर्ने तालिका रहेको एबिसीन्यूजले उल्लेख गरेको छ। यी कार्यक्रमहरू सकिएपछि उनीहरू सिधै इङ्गल्याण्डका लागि प्रस्थान गर्नेछन्।

भर्जिनिया जानुअघि राजा र रानीले न्यूयोर्कमा एक विशेष रात्रिभोजमा सहभागिता जनाएका थिए। ‘द किंग्स ट्रस्ट’ नामक संस्थाको साझेदारीमा आयोजित उक्त कार्यक्रममा संसारका प्रसिद्ध व्यक्तिहरूको उपस्थिति थियो। भेषभूषा परिरुपक (फेसन डिजाइनर )डोनाटेला भर्साचे, स्टेला म्याकार्टनी, नमुना (मोडेल )इमान र प्रसिद्ध गायक लियोनेल रिची जस्ता हस्तीहरूले उक्त कार्यक्रमको शोभा बढाएका थिए।

यो संस्थाले विशेष गरी युवाहरूलाई रोजगारीका लागि तालिम दिने र उनीहरूको भविष्य उज्ज्वल बनाउने काम गर्छ। न्यूयोर्कको कार्यक्रममा राजा चार्ल्स र गायक लियोनेल रिचीले युवाहरूको विकासका बारेमा आफ्ना महत्वपूर्ण भनाइहरू राखेका थिए।

यस भ्रमणले अमेरिका र बेलायतबीचको पुरानो मित्रतालाई अझ मजबुत बनाएको छ। चार दिनसम्म चलेको यो व्यस्त यात्राले दुई देशबीचको सांस्कृतिक र सामाजिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको विश्वास गरिएको छ।

प्रतिक्रिया