
अमेरिकाको जर्जियाबाट फ्लोरिडाका लागि गाडी(कार)हरू लिएर हिँडेका एक ठूलो लामो माल बाहक सवारी साधन (ट्रक )चालक मृत अवस्थामा फेला परेका छन्। ४१ वर्षीय अलेहान्द्रो जाकोमिनो गोन्जालेज गत अप्रिल १७ देखि बेपत्ता थिए। अमेरिकी अनुसन्धान निकाय एफबिआईले उनको शव जर्जियाको तटीय क्षेत्रमा भेटिएको पुष्टि गरेको छ।
एबिसीन्यूजका अनुसार गोन्जालेज पेसाले माल बाहक गाडी (ट्रक )चालक थिए। उनले अप्रिल १६ मा जर्जियाको ब्रन्सविक बन्दरगाहबाट केही गाडीहरू लिएर मायामीका लागि यात्रा सुरु गरेका थिए। अप्रिल १७ को बिहान करिब १:२० बजे उनी फ्लोरिडाको एक ‘रेस्ट स्टप’ (आराम गर्ने ठाउँ) मा रोकिएका थिए। केही घण्टाको आरामपछि बिहान ७:५० बजे उनको गाडी फेरि गुड्न थाल्यो, तर अनौठो कुरा के भयो भने गाडी दक्षिण जानुको सट्टा उत्तरतर्फ मोडियो। त्यसपछि गोन्जालेजसँग कसैको सम्पर्क हुन सकेन।
त्यही दिन उनको गाडी बोक्ने सवारी साधन जर्जियामा फेला पर्यो, तर चालक गोन्जालेज त्यहाँ थिएनन्। गाडीमा राखिएका केही गाडीहरू पनि गायब थिए। एफबिआईले यस घटनालाई “शङ्कास्पद” भन्दै यो एक अपहरण हुनसक्ने बताएको छ। पछि, हराएका गाडीहरूमध्ये तीनवटा गाडी फ्लोरिडामा फेला परेका छन्।
अहिले एफबिआईको ट्याम्पा र एटलान्टा कार्यालयले यस घटनाको गम्भीरताका साथ अनुसन्धान गरिरहेका छन्। गोन्जालेजको मृत्यु कसरी भयो र यसमा कसको हात छ भन्ने कुरा अझै खुल्न सकेको छैन। अधिकारीहरूले यस घटनाबारे जानकारी हुने जोकोहीलाई पनि प्रहरीमा खबर गर्न आग्रह गरेका छन्।
–
प्रतिक्रिया