राष्ट्रपति ट्रम्पको इरानलाई कडा चेतावनी: “अब उदारता देखाउने समय सकियो”

जर्मनीसँग पनि ट्रम्प रुष्ट: इरानको आणविक हतियार रोक्न 'अधिकतम दबाब' दिने घोषणा

इनेप्लिज २०८३ वैशाख १६ गते १०:५८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान सामाजिक सञ्जालमार्फत इरानलाई नयाँ आणविक सम्झौताका लागि कडा चेतावनी दिएका छन्। उनले यदि इरानले आणविक हतियार नबनाउने सम्झौतामा हस्ताक्षर नगरेमा गम्भीर नतिजा भोग्नुपर्ने संकेत गरेका हुन्।

ट्रम्पले लेखेका छन्, “इरानले अझै पनि कुरा बुझिरहेको छैन। उनीहरूलाई आणविक सम्झौता कसरी गर्ने भन्ने नै थाहा छैन। उनीहरू चाँडै सचेत हुनु राम्रो हुन्छ!” उनले थप कडा शब्दमा भनेका छन्, “अब म इरानप्रति नरम हुनेछैन (नो मोर मिस्टर नाइस गाई)!”

यसैक्रममा राष्ट्रपति ट्रम्पले जर्मन चान्सलर फ्रेडरिक मर्जको पनि आलोचना गरेका छन्। चान्सलर मर्जले इरानका सवालमा अमेरिकी रणनीतिको आलोचना गर्दै अमेरिकाले इरानबाट अपमान खेपिरहेको टिप्पणी गरेका थिए। यसको जवाफमा ट्रम्पले जर्मन नेतालाई के बोलिरहेको छु भन्ने नै थाहा नभएको आरोप लगाए। ट्रम्पले भने, “यदि इरानसँग आणविक हतियार भयो भने पूरै विश्व बन्धक बन्नेछ। म इरानका लागि त्यस्तो काम गर्दैछु जुन अन्य राष्ट्रपतिहरूले धेरै पहिले नै गर्नुपर्थ्यो।”

इरानमाथि दबाब बढाउन ट्रम्प प्रशासनले इरानको ‘छाया बैंकिङ नेटवर्क’ अर्थात् लुकीछिपी गरिने आर्थिक कारोबारसँग जोडिएका दर्जनौँ व्यक्ति र संस्थाहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ। अमेरिकी सरकारका अनुसार यी संस्थाहरूले इरानलाई अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बच्न र अर्बौँ डलर जम्मा गर्न सहयोग गरिरहेका छन्।

अमेरिकी विदेश बिभागका प्रवक्ताले यी वित्तीय माध्यमहरूलाई भत्काएर इरानमाथि “अधिकतम दबाब” दिने नीतिलाई अझ प्रभावकारी बनाइने बताएका छन्।

प्रतिक्रिया