ऐतिहासिक राजकीय भ्रमण: मेरी आमाको नजरमा चार्ल्स निकै प्यारा थिए,  राजासँगको भेटपछि ट्रम्पको खुलासा 

इनेप्लिज २०८३ वैशाख १५ गते २२:३१ मा प्रकाशित

अहिले विश्वको ध्यान अमेरिकाको राजधानी वासिङ्टन डिसीमा केन्द्रित छ , जहाँ बेलायतका राजा चार्ल्स र रानी क्यामिला राजकीय भ्रमणका लागि पुगेका छन्। 

यो भ्रमणले अमेरिका र बेलायत बीचको पुरानो र बलियो मित्रतालाई फेरि एकपटक ताजा बनाएको छ।राष्ट्रपति ट्रम्पले राजा चार्ल्सलाई ह्वाइट हाउसको ‘दक्षिण कक्षमा भव्य स्वागत गरे। 

स्वागत कार्यक्रममा अमेरिकी लडाकु विमान एफ-३५ ले आकाशबाट सलामी अर्पण गरेको थियो। राष्ट्रपति ट्रम्प र राजा चार्ल्सले ओभल कार्यलयमा महत्वपूर्ण विषयमा छलफल गरेका छन्।

भेटघाटका क्रममा राष्ट्रपति ट्रम्पले आफ्नी स्वर्गीय आमाको सम्झना गरे। उनले ठट्टा गर्दै भने, “मेरी आमालाई बेलायती शाही परिवार निकै मन पर्थ्यो र उहाँले सधैं भन्नुहुन्थ्यो— जवान चार्ल्स कति प्यारा देखिन्छन्!” यसले दुई नेताबीचको वातावरणलाई निकै रमाइलो बनाएको थियो।

राष्ट्रपति ट्रम्पले ८० वर्षअघि दोस्रो विश्वयुद्धको समयमा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र अमेरिकी राष्ट्रपति रुजवेल्ट बीच भएको ऐतिहासिक भेटको चर्चा गरे। 

उनले अमेरिका र बेलायत बीचको यो मित्रता सधैं कायम रहने विश्वास व्यक्त गरे। 

राजा चार्ल्सले आज अमेरिकी संसद् (कंग्रेस) लाई सम्बोधन गर्दैछन्। राष्ट्रपति ट्रम्पले राजाको भाषण प्रत्यक्ष रूपमा संसद्मै गएर सुन्न चाहेको भए तापनि ‘प्रोटोकल’ (औपचारिक नियम) का कारण उनले त्यो भाषण टाढैबाट हेर्ने बताएका छन्।

 आजै बेलुका राजाको सम्मानमा ह्वाइट हाउसमा विशेष राजकीय भोजको आयोजना गरिएको छ।

प्रतिक्रिया