
ग्रिसको राजधानी एथेन्समा मंगलबार एक ८९ वर्षीय वृद्धले सरकारी सामाजिक सुरक्षा कार्यालय र अदालत भवनमा अन्धाधुन्ध गोली प्रहार गरेका छन्। सटगन (बन्दुक) बोकेका ती वृद्धले चलाएको गोली लागेर कम्तीमा चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार ती वृद्ध पहिले ‘केरामेइकोस’ क्षेत्रमा रहेको सामाजिक सुरक्षा कार्यालयको चौथो तलामा पुगेका थिए। त्यहाँ उनले ठुलो लामो कोटभित्र लुकाएको बन्दुक निकालेर एक कर्मचारीलाई “भुइँमा निहुरिन” भने र अर्का कर्मचारीको खुट्टामा गोली हाने। त्यसपछि उनी शान्तपूर्वक त्यहाँबाट फरार भए। श्रब्यदृश्य (सीसीटीभी फुटेज)मा उनी हातमा बन्दुक लिएर बाटो काट्दै गरेको देखिएका छन्।
सिएनएनका अनुसार त्यसको केही समयपछि, ती वृद्धले एथेन्सकै अर्को ठाउँमा रहेको अदालत भवनको तल्लो तलामा पुगेर पुनः गोली चलाए। अदालतमा उनले सिधै मानिसलाई भन्दा पनि भुइँतिर ताकेर गोली हानेका थिए।
अदालतमा गोली चल्दा भुइँमा ठोकिएर उछिट्टिएका छर्राहरू लागेर तीन जना महिला कर्मचारी सामान्य घाइते भएका छन्। अर्की एक महिला कर्मचारीलाई कुनै चोट नलागे पनि मानसिक तनावका कारण अस्पताल भर्ना गरिएको छ। सामाजिक सुरक्षा कार्यालयमा गोली लागेका कर्मचारीको खुट्टामा प्रहरीले तत्काल ब्यान्डेज बाँधेर अस्पताल पठाएको थियो।
यति वृद्ध उमेरमा उनले किन यस्तो गरे भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। तर, सरकारी सञ्चारमाध्यमका अनुसार ती वृद्धले अदालतमा केही कागजात र खामहरू छोडेका छन्, जसमा उनले आफ्नो यो कदमको कारण उल्लेख गरेको बताइएको छ।
प्रहरीले घटनास्थलबाट बन्दुक बरामद गरेको छ । र ,फरार ती वृद्धको तीव्र खोजी गरिरहेको छ। ग्रिसमा बन्दुक राख्न कडा कानुन भएकाले यस्ता खालका हिंसात्मक घटनाहरू त्यहाँ निकै कम हुने गर्छन्।
प्रतिक्रिया