अमेरिकामा ३० हजार फिट माथि हवाई जहाज अवतरण हुनु २० मिनेटअघि नै आमाले जन्माइन सन्तान

इनेप्लिज २०८३ वैशाख १५ गते १:१५ मा प्रकाशित

जहाज अवतरण हुन मात्र २० मिनेट बाँकी थियो। विमान परिचारिकाले सबैलाई ‘सिट पेटी ‘ बाँध्न र ‘टेबल’ सिधा राख्न निर्देशन दिँदै थिइन्। तर अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरबाट ओरेगन राज्यको पोर्टल्यान्डका लागि उडेको डेल्टा एयरको त्यो बोइङ ७३७ जहाजभित्र एकजना महिलाले आकाश मै प्रसव व्यथा लागे पछि बच्चीलाई जन्म दिइन् ।

तर उक्त महिला यात्रीका लागि भने यो कुनै सामान्य यात्रा थिएन—यो त जीवन र मृत्युको बीचमा एउटा नयाँ प्राण धर्तीमा ल्याउने संघर्षको क्षण थियो।

टेनेसीकी एस्ली ब्लेयर आफ्नी आमाको काखमा पुगेर सन्तान जन्माउने धोकोका साथ यात्रा गर्दै थिइन्। तर, गर्भको शिशुले हतार गरिदियो। पोर्टल्यान्ड ओर्लिनु आधा घण्टा अघि नै एस्लीलाई प्रसव व्यथाले च्याप्यो। १५३ जना यात्रीले भरिएको त्यो जहाजमा छिट्टै १५४ औँ सदस्य थपिँदै थिइन्।

संयोगवश, छुट्टी मनाएर फर्किएका दुई प्यारामेडिक्स अर्थात् स्वास्थ्यकर्मी टिना फ्रिट्ज र कारिन पावेल सोही जहाजमा थिए। एस्लीको अवस्था देख्ने बित्तिकै उनीहरूले तुरुन्तै ‘इमर्जेन्सी डेलिभरी’ आपतकालीन सुत्केरी गराउने निर्णय गरे। न त त्यहाँ अस्पतालको ओछ्यान थियो, न कुनै आधुनिक उपकरण। उनीहरूले अन्य यात्रीहरूसँग कम्बल मागे र शिशुको साल काट्नका लागि विमान परिचारिकाको जुत्ताको तुना प्रयोग गरे। अर्को एउटा तुनाले भने एस्लीको हातमा सलाइन जोड्ने पट्टीको काम गर्यो।

एस्लीले अन्तिम जोड लगाइन् र जहाजको पाङ्ग्राले धावनमार्ग छुनु ठीक अघि एउटी सुन्दरी छोरी—ब्रिएल रेनी ब्लेयरको जन्म भयो। स्वास्थ्य परिचारिका टिना भन्छिन्, “आमा साच्चै एउटा ‘रक स्टार’ साच्चै साहसी जस्तै थिइन्, उनले निकै साहस देखाइन्।” शिशु जन्मिएर रुने बित्तिकै पूरा जहाजभित्र खुसीको लहर छायो।

एपीका अनुसार जहाज रोकिनेबित्तिकै आमा र शिशुलाई अस्पताल लगियो। दुवैको स्वास्थ्य अवस्था राम्रो छ। आमाको काखमा पुग्न नपाए पनि एस्लीले आकाशमै एउटा नयाँ सम्बन्ध भेटिन्। स्वास्थ्य परिचारिका टिना भन्छिन्, “हामी अब सधैँका लागि साथी भएका छौँ।” आकाशको त्यो अनौठो यात्राले एउटी आमालाई नयाँ खुसी दियो र बाँकी यात्रीहरूलाई कहिल्यै नबिर्सने एउटा भावनात्मक कथा।

प्रतिक्रिया