
अमेरिकाको इलोनोइ राज्यको शिकागोस्थित एक अस्पतालभित्रै गोली चल्दा एक प्रहरी अधिकारीको ज्यान गएको छ भने अर्का एक प्रहरी गम्भीर घाइते भएका छन्। यो घटना शनिबार बिहान ‘एन्डेभर हेल्थ स्वीडिश अस्पताल’ मा घटेको हो।
प्रहरीले एक अज्ञात संदिग्ध व्यक्तिलाई उपचारका लागि शनिबार बिहान करिब ९ बजे अस्पताल ल्याएका थिए। अस्पताल प्रशासनका अनुसार सुरुमा ती व्यक्तिको सुरक्षा जाँच गरिएको थियो। तर, बिहान ११ बजेतिर हिरासतमा रहेका ती व्यक्तिले अचानक बन्दुक हात पारेर गोली चलाउन सुरु गरे र त्यहाँबाट भाग्न खोजे।
यस आक्रमणमा दुईजना प्रहरीलाई गोली लागेको थियो। ३८ वर्षीय प्रहरी अधिकारी जोन बार्थोलोम्युको उपचारका क्रममा अस्पतालमै मृत्यु भयो। उनी १० वर्षदेखि प्रहरी सेवामा कार्यरत थिए। अर्का घाइते प्रहरी ५७ वर्षका छन् र उनले २१ वर्षदेखि प्रहरी विभागमा काम गर्दै आएका थिए। उनको अवस्था अहिले निकै गम्भीर छ।
गोली चल्ने बित्तिकै अस्पतालमा ‘लकडाउन’ अर्थात् बन्द गरिएको थियो। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार त्यहाँ रहेका कुनै पनि बिरामी वा स्वास्थ्यकर्मीलाई शारीरिक चोट लागेको छैन। गोली चलाउने व्यक्तिलाई केही समयपछि नै प्रहरीले पुनः पक्राउ गरिसकेको छ र घटनास्थलबाट बन्दुक पनि बरामद गरिएको छ।
घटनापछि शनिबार दिउँसोदेखि अस्पतालको सेवा पुनः सुरु गरिएको छ। यद्यपि, हिरासतमा रहेका व्यक्तिले कसरी बन्दुक हात पारे भन्नेबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया