
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानका विरुद्ध जारी जलसेनाको नाकाबन्दीमा ठूलो सफलता मिलेको दाबी गरेको छ। आइतबार अबेर सामाजिक सञ्जाल एक्स (एक्स) मार्फत जानकारी दिँदै अमेरिकी सेनाले हालसम्म ३८ वटा जहाजहरूलाई इरानी बन्दरगाहमा जानबाट रोकेर फिर्ता पठाइएको बताएको छ।
अमेरिकी सेनाले फारसको खाडी र ओमानको खाडीमा कडा निगरानी गरिरहेको छ। उनीहरूले कुनै पनि जहाजलाई इरानभित्र पस्न वा त्यहाँबाट बाहिर निस्कन दिइरहेका छैनन्। युरोपेली उपग्रहले खिचेको तस्बिरमा अमेरिकाको ठूलो युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’ नाकाबन्दी गरिएको क्षेत्रभन्दा केही टाढा तैनाथ रहेको देखिएको छ।
एबिसीन्यूजका अनुसार यस संवेदनशील विषयमा छलफल गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग महत्त्वपूर्ण बैठक गर्दैछन्। अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प प्रशासन यो नाकाबन्दीको प्रभावबाट निकै उत्साहित देखिएको छ।
इरानले यो संकट समाधानका लागि केही नयाँ प्रस्तावहरू पठाएको भए तापनि अमेरिका ती प्रस्तावहरूमा सहमत देखिएको छैन। अमेरिकी अधिकारीहरूका अनुसार इरानले राखेका शर्तहरू अमेरिकाले तय गरेको ‘लक्ष्मण रेखा’ भन्दा निकै टाढा छन्। त्यसैले अहिलेको अवस्थामा वार्ताबाट तुरुन्तै नतिजा निस्कने सम्भावना कम देखिएको छ।
यो नाकाबन्दीले इरानको व्यापार र अर्थतन्त्रमा ठूलो असर पार्ने देखिएको छ। अमेरिकाले आफ्नो सुरक्षा र अडानमा कुनै सम्झौता नगर्ने संकेत दिएको छ ।
प्रतिक्रिया