
उत्तर अमेरिकाको राष्ट्रिय स्तरको सबैभन्दा जेठो मध्ये कै एक र प्रतिष्ठित संस्था एसोसिएसन अफ नेपालीज इन द अमेरिकाजले हाल प्रचलनमा ल्याइएको ‘गैर-आवासीय नेपाली नागरिकता’ को प्रावधानप्रति कडा आपत्ति जनाउँदै संसारभरका नेपालीहरूको स्वाभिमान रक्षाका लागि एक विशेष आह्वान गरेको छ।
संस्थाका अध्यक्ष खगेन्द्र अधिकारीले यो व्यवस्थालाई “प्रतीकात्मक, अधिकारविहीन र अपमानजनक” भन्दै यसले प्रवासी नेपालीको मौलिक अधिकारलाई खुम्च्याएको दाबी गरेका छन् ।
अध्यक्ष अधिकारीका अनुसार, गैर-आवासीय नेपालीका नाममा केही मुठ्ठीभर अल्पसंख्यक व्यक्तिहरूले आफ्नो निहित स्वार्थका लागि यो ‘कागजी खोस्टो’ सरहको नागरिकतालाई वैधानिकता दिन लबिइङ गरिरहेका छन्। उनले यस्ता कार्यलाई “षड्यन्त्रकारी र दुःखदायी” संज्ञा दिँदै यसले विश्वभर रहेका झन्डै १ करोड नेपालीलाई अपमानित गरेको बताएका छन् ।
“हाम्रा पुर्खा नेपाली थिए, हामी नेपाली हौँ र हाम्रा सन्तान पनि नेपाली नै रहनेछन्। यो हाम्रो प्राकृतिक र संवैधानिक अधिकार हो,” अधिकारीले भने , “तर केही व्यक्तिको अनावश्यक घुलमिल र षड्यन्त्रका कारण हाम्रो यो पवित्र साइनोलाई कमजोर बनाउन खोजिएको छ। जेन-जी युवा पुस्ताको बलिदानी र जनआन्दोलनबाट बनेको यो नयाँ सरकारले समेत पूर्ववर्ती अपदस्थ सरकारहरूकै बाटो पछ्याउनु विडम्बनापूर्ण छ।”
यस समाचारको सबैभन्दा मार्मिक र डरलाग्दो पक्ष यो हो कि हालको ‘गैर-आवासीय नागरिकता’ ले नेपाली पहिचानलाई केवल तीन पुस्तामा सीमित गरिदिएको छ। यसको अर्थ, हाम्रा नाति-पनातिहरूले आफ्नो पुर्खाको देशसँगको कानुनी र भावनात्मक साइनो सधैँका लागि गुमाउनेछन्। एएनएले यसलाई “सार्वभौम अधिकारविहीन र लङ्गडो नागरिकता”भन्दै यसको सट्टा ‘वंशजका आधारमा प्राप्त हुने साँचो नेपाली नागरिकता’ कै निरन्तरता हुनुपर्ने माग गरेको छ।
अध्यक्ष अधिकारीले अगाडि भनेका छन् , “हामीलाई काम नलाग्ने, मौलिक हकबाट वञ्चित र तिन पुस्तामै समाप्त हुने नागरिकता चाहियो भन्दै कसले अधिकार दियो? सम्पूर्ण प्रवासी नेपालीहरूको मुख्य प्राथमिकता भनेको कागजी खोस्टो होइन, बरु वंशज र जन्मसिद्ध मूल पहिचान सहितको नेपाली नागरिकताको पुनर्वहाली हो। यो मुद्दामा अब कुनै सम्झौता हुन सक्दैन।”
विगतका सरकारहरूको अदूरदर्शिता र अपरिपक्व सोचका कारण जवर्जस्ती खोसिएको हाम्रो मूल अधिकार फिर्ता पाउनु नै अहिलेको प्रमुख संवैधानिक र नैतिक आवश्यकता हो। अधिकारीले वर्तमान सरकारलाई स्पष्ट सन्देश दिँदै भनेका छन् — “संविधानको भावना र मर्म अनुसार, हालको नागरिकता ऐनका बाझिएका दफाहरूलाई पूर्णतः संशोधन गरी साविकको नेपाली नागरिकतालाई नै निरन्तरता दिनु राज्यको सदाबहार जिम्मेवारी हो।”
अन्त्यमा, एएनएले विश्वभर रहेका सम्पूर्ण नेपाली डायस्पोरा, विभिन्न संघ-संस्था र तह-तप्काका व्यक्तिहरूलाई आफ्नो अस्तित्व र पहिचान जोगाउने यो ‘महान् र प्रगतिशील’ अभियानमा एकजुट हुन विनम्र अनुरोध गरेको छ। “यो हाम्रो रगतको अधिकार हो, यो हाम्रो स्वाभिमानको लडाइँ हो। यस अभियानमा कोही पनि नछुटौँ, कोही पनि पछि नपरौँ,” अध्यक्ष अधिकारीले भावना व्यक्त गरेका छन् ।
“हामी जहाँ रहे पनि नेपाली थियौँ, छौँ र हाम्रा सन्ततिलाई पनि नेपाली नै राखिरहनेछौँ। सत्यको जित सुनिश्चित छ। सबैको जय होस्!”
प्रतिक्रिया