
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्न लामो यात्रा गर्नुको सट्टा दूरवाणी(फोन)बाटै कुरा गर्न सकिने बताएका छन् । फक्स न्युजसँगको एक अन्तर्वार्तामा उनले १७ घण्टा लामो उडान भरेर प्रतिनिधिमण्डल पठाउनु भन्दा दूरवाणीमा कुरा गर्नु नै उचित निर्णय भएको बताएका छन् ।
ट्रम्पका अनुसार अहिले अमेरिका बलियो अवस्थामा छ। उनले भने , “अहिले सबै शक्ति (कार्ड्स ) हाम्रै हातमा छ। यदि इरानी अधिकारीहरू कुरा गर्न चाहन्छन् भने तिनीहरू आफैँ हामीकहाँ आउनुपर्छ वा दूरवाणी गर्नुपर्छ।” तर, यो कुराकानी कहिले हुन्छ भन्ने बारेमा उनले केही खुलाएका छैनन् ।
यसअघि, शनिबार इरान र अमेरिकाबीचको वार्ता बिग्रिएको संकेत देखिएको थियो। इरानका मुख्य कूटनीतिज्ञ पाकिस्तानबाट बाहिरिएपछि ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई पाकिस्तानको राजधानी इस्लामावाद नजान निर्देशन दिएका थिए ।
अन्तर्वार्ताका क्रममा ट्रम्पले सैन्य संगठन ‘नेटो’ प्रति पनि आफ्नो ठूलो असन्तुष्टि व्यक्त गरे । इरानले विश्वको महत्त्वपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गराउँदा पनि नेटो आबद्ध देशहरूले सहयोग नगरेकोमा उनि धेरै निराश देखिएका छन् । ट्रम्पले भने, “हामीले धेरै वर्षदेखि उनीहरूको सेवा गरिरहेका छौँ र खर्बौं डलर खर्च गरेका छौँ। तर जब हामीलाई सहयोग चाहिएको थियो, उनीहरू त्यहाँ उपस्थित भएनन् । यो कुरा हामीले सधैं सम्झनुपर्छ।”
सहयोग नपाएको भन्दै ट्रम्पले अमेरिकाले भविष्यमा नेटो गठबन्धन नै छोड्न सक्ने सम्मको संकेत दिएका छन् ।
प्रतिक्रिया