
अमेरिकाको वासिङ्टन डीसीस्थित हिल्टन होटल(अतिथि गृह)मा आयोजित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसन’ पत्रकारहरुको रात्रभोजमा एक व्यक्तिले सुरक्षा घेरा तोडेर आक्रमण गर्ने प्रयास गरेपछि त्यहाँ भागदौड र त्रासको वातावरण बनेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित रहेका छन् । उनि पहिलो पटक पत्रकारहरुको सम्मेलनमा सहभागी हुँदा यस्तो दुर्घटना हुन् पुगेको हो ।
को हुन् त आक्रमणकारी?
सुरक्षा अधिकारीहरूका अनुसार पक्राउ परेका व्यक्तिको नाम कोल एलेन हो। उनी क्यालिफोर्निया राज्यको टोरन्स शहरका बासिन्दा हुन्। उनी पेसाले शिक्षक (ट्युटर) भएको खुलेको छ। उनले अप्रिलको सुरुवातमै उक्त अतिथिगृह (होटल)मा कोठा आरक्षितगरेका थिए। पक्राउ परेपछि उनले धेरै कुरा नबोले पनि सरकारका उच्च अधिकारीहरूलाई निशाना बनाउन खोजेको संकेत दिएका छन्।
शनिबार राति करिब ८:३६ बजे, संदिग्ध व्यक्ति कोल एलेनले अतिथि गृहको सुरक्षा जाँच केन्द्र (चेकपोइन्ट) मा जबरजस्ती पस्ने प्रयास गरे। उनीसँग एउटा सानो बन्दुक ,एउटा अर्को बन्दुक र धेरै धारिला चक्कुहरू थिए। सुरक्षामा खटिएका अमेरिकी गुप्तचर सेवा सुरक्षाकर्मीहरूले उनलाई रोक्न खोज्दा दुई पक्षबीच गोली हानाहान भएको थियो।

त्यस क्रममा एकजना सुरक्षाकर्मीलाई गोली लागेको थियो। भाग्यवश, उनले ‘बुलेटप्रुफ भेस्ट’ गोली नछिर्ने वस्त्र लगाएका कारण उनको ज्यान जोगियो र उनी अहिले खतरामुक्त छन्। आक्रमणकारी एलेनलाई भने गोली लागेन, तर उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ।
गुप्तचर सेवाका निर्देशक सिन एम. कुरानले आफ्ना कर्मचारीहरूको प्रशंसा गर्दै उनीहरूले अत्यन्तै बहादुरीका साथ काम गरेको बताए । उनले सुरक्षाको कडा व्यवस्था भएकाले नै ठूलो दुर्घटना हुन नपाएको दाबी गरे । संदिग्ध एलेनलाई अहिले ‘सङ्घीय अधिकारीमाथि आक्रमण’ र ‘हिंसात्मक अपराधमा हतियार प्रयोग’ गरेको गम्भीर अभियोग लगाइएको छ।
यस घटनाले सन् २०२४ मा पेन्सिलभेनियामा डोनाल्ड ट्रम्पमाथि भएको गोलीकाण्डको याद दिलाएको छ। ह्वाइट हाउसका उप कर्मचारी प्रमुख ड्यान स्काभिनो जुनियरले सामाजिक सञ्जालमा लेख्दै भने , “मैले फेरि यस्तो डरलाग्दो अनुभव गर्नुपर्ला भनेर सोचेको थिइनँ। सबै सुरक्षित रहेकोमा म धेरै खुसी छु।”
अहिले क्यालिफोर्नियामा रहेको एलेनको घरमा एफबीआई र स्वाट टोलीले अनुसन्धान सुरु गरिसकेको छ।
ह्वाइट हाउस रात्री भोजनमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, वासिङ्टन हिल्टनमा भागाभाग
प्रतिक्रिया