ह्वाइट हाउस रात्री भोजनमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, वासिङ्टन हिल्टनमा भागाभाग

सुरक्षा घेरा तोड्दै अन्धाधुन्ध गोली प्रहार: सयौँ पत्रकार र नेताहरूले टेबुलमुनि लुकेर ज्यान जोगाए

इनेप्लिज २०८३ वैशाख १३ गते १:१६ मा प्रकाशित

शनिबार राति वासिङ्टन स्थित हिल्टन होटल(अतिथि गृह)मा आयोजित ‘ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर’ (पत्रकारहरुको सम्मेलन)मा गोली चलेपछि ठूलो हलचल मच्चिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भाषण गर्नै लाग्दा ५ देखि ८ पटक गोली चलेको आवाज सुनिएको थियो। सुरक्षा अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्प पूर्ण रूपमा सुरक्षित रहेका छन् भने उनलाई तुरुन्तै सुरक्षित स्थानमा लगिएको छ।

सयौँ चर्चित पत्रकार, बिशेष व्यक्तित्वहरु (सेलिब्रेटी) र देशका उच्च नेताहरू ट्रम्पको भाषणको प्रतीक्षा गरिरहेका थिए। अचानक गोली चलेको आवाज आएपछि सुरक्षाकर्मीहरू “बाटो छोड्नुहोस्” र “तल झुक्नुहोस्” भन्दै चिच्याउन थाले। ज्यान जोगाउन सयौँ मानिसहरू टेबुलमुनि लुकेका थिए।

एक प्रहरी अधिकारीले घटनामा गोली चलेको पुष्टि गरेका छन्। आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। एपीका अनुसार अहिलेसम्म कोही पनि घाइते भएको नभएको जनाएको छ ।

घटना लगत्तै ‘नेशनल गार्ड’ (सेनाको विशेष टोली) ले भवनलाई चारैतिरबाट घेरेको छ। मानिसहरूलाई भवनबाट बाहिर निस्कन दिइएको छ तर भित्र जान पूर्ण प्रतिबन्ध लगाइएको छ। होटल बाहिरको सुरक्षा व्यवस्था पनि अत्यन्तै कडा पारिएको छ।

यस कार्यक्रममा राष्ट्रपति ट्रम्पका साथै उपराष्ट्रपति जेडी भान्स, रक्षा सचिव पिट हेगसेथ र विदेश सचिव मार्को रुबियो जस्ता उच्च अधिकारीहरू पनि सहभागी रहेका थिए ।। सुरक्षा निकायले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया