
अमेरिकाको ओक्लाहोमा राज्यमा बिहीबार आएको एउटा शक्तिशाली टोर्नाडो (घुम्रपात) ले ग्रामीण भेगमा ठूलो विनाश निम्त्याएको छ।
गारफिल्ड काउन्टीका अधिकारीहरूका अनुसार यस प्राकृतिक विपत्तिले करिब ४० वटा घरहरूमा क्षति पुर्याएको छ। घुम्रपात यति शक्तिशाली थियो कि कतिपय घरका छतहरू हावाले उडाएको छ भने कतिपय घरहरू पूर्ण रूपमा भग्नावशेषमा परिणत भएका छन्।
राष्ट्रिय मौसम सेवाका अनुसार यो घुम्रपात(टोर्नाडो) ओक्लाहोमाको उत्तरी सीमा नजिकै रहेको करिब ५० हजार जनसंख्या भएको ‘एनिड’ सहर भएर अगाडि बढेको थियो।
सामाजिक सञ्जालमा देखिएका श्रव्यदृश्य(भिडियो)हरुमा हावाको एउटा भयानक घुम्ने खम्बा जमिनमा ठोक्किएको र घरहरूलाई छिन्नभिन्न पारेको देखिन्छ। यस क्षेत्रका धेरै सडकहरू र राजमार्ग ८१ को केही भाग बन्द गरिएको छ।

राहत र उद्धारका लागि आपत्कालीन टोलीहरू तत्काल खटिएका थिए। एनिडका नगर प्रमुथ डेभिड मेसनका अनुसार कतिपय बासिन्दाहरू आफ्नै घरको भग्नावशेषभित्र थुनिएका थिए, जसलाई सुरक्षाकर्मीहरूले सकुशल उद्धार गरेका छन्। अहिलेसम्म कसैको पनि मृत्यु भएको खबर आएको छैन र केही मानिसहरू सामान्य घाइते मात्र भएको एपिले जनाएको छ ।
सहरको दक्षिणतर्फ रहेको ग्रे रिज क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ।।
आँधीका कारण नजिकैको भ्यान्स एयर फोर्स बेस ( सैनिक हवाई अड्डा)मा पनि क्षति पुगेको छ, जसका कारण अहिले त्यहाँको सेवा बन्द गरिएको छ।
ओक्लाहोमाका गभर्नर केभिन स्टिटले पीडित परिवारका लागि प्रार्थना गर्न अपिल गरेका छन् । मौसमविद्हरूले शनिबार पनि यस क्षेत्रमा थप आँधी आउन सक्ने चेतावनी दिएका छन्।
स्थानीय प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको छ।
प्रतिक्रिया