
ह्वाइट हाउसमा भएको एउटा महत्वपूर्ण भेटघाटमा इजरायल र लेबनानका राजदूतहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। दुवै देशका प्रतिनिधिहरूले अहिलेको समयलाई ‘ऐतिहासिक’ भन्दै खुसी व्यक्त गरेका छन्।
अमेरिकाका लागि इजरायली राजदूत यचिएल लाइटरले भने , “इजरायल र लेबनान इतिहासमै कहिल्यै पनि आजको जस्तो नजिक भएका थिएनन्।” उनले यो दिन देख्न दशकौँ कुरेको बताउँदै शान्तिको कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।
त्यस्तै लेबनानकी राजदूत नादा हमादेह मुवादले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिँदै भनिन् , “तपाईको सहयोगले हामी लेबनानलाई फेरि महान् बनाउन सक्छौँ।”
यस वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले एउटा महत्वपूर्ण कुरा दोहोर्याएका छन् । उनले इरानलाई मध्यपूर्वका विभिन्न लडाकु समूहहरू (जस्तै लेबनानको हिजबुल्लाह) लाई हतियार र पैसा दिन बन्द गर्न चेतावनी दिएका छन् ।
जब एक पत्रकारले ट्रम्पलाई सोधे— “के इरानले ती समूहलाई सहयोग गर्न छोड्नै पर्ने हो ?” ट्रम्पले जवाफ दिए , “हो, उनीहरूले त्यो रोक्नै पर्छ। शान्तिका लागि यो अनिवार्य सर्त हो।”
अमेरिका र इरानबीचको तनाव अन्त्य गर्न र मध्यपूर्वमा सधैँका लागि शान्ति स्थापना गर्न इरानले यस्ता समूहहरूलाई साथ दिन छोड्नुपर्ने ट्रम्पको अडान छ।
प्रतिक्रिया