इजरायल र लेबनानबीचको युद्धविराम थप ३ हप्ता लम्बियो: ह्वाइट हाउसमा भयो ऐतिहासिक सहमति

राष्ट्रपति ट्रम्पको पहलमा इजरायल-लेबनान शान्ति वार्ता सफल

इनेप्लिज २०८३ वैशाख ११ गते ०:०२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र लेबनानबीच भइरहेको युद्धविरामलाई थप तीन हप्ताका लागि बढाइएको घोषणा गरेका छन् । बिहीबार अमेरिकी सरकारी निवास ‘ह्वाइट हाउस’ मा इजरायल र लेबनानका अधिकारीहरूबीच भएको दोस्रो चरणको शान्ति वार्ता पछि यो सहमति जुटेको हो।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यो खुसीको खबर सार्वजनिक गर्दै लेखेका छन् , “इजरायल र लेबनानबीचको युद्धविराम अब थप तीन हप्तासम्म जारी रहनेछ।”

यसअघि गत अप्रिल १६ तारिखदेखि १० दिनका लागि मात्र युद्धविराम गर्ने सहमति भएको थियो। सो समय सकिनुअघि नै फेरि दुई देशबीच वार्ता गराइएको हो। राष्ट्रपति ट्रम्पका अनुसार यो महत्वपूर्ण बैठकमा अमेरिकाका उपराष्ट्रपति जेडी भान्स, विदेशसचिव मार्को रुबियो र इजरायल तथा लेबनानका लागि खटिएका अमेरिकी राजदूतहरूको सहभागिता थियो।

बैठकमा इजरायल र लेबनानका उच्च पदस्थ प्रतिनिधिहरू पनि सहभागी थिए। बैठक निकै सकारात्मक भएको र सबै पक्ष युद्ध रोक्न सहमत भएको बताइएको छ। राष्ट्रपति ट्रम्पले यो बैठक धेरै राम्रो भएको बताउँदै अब छिट्टै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ आउनलाई स्वागत गर्न आफू आतुर रहेको बताए ।

प्रतिक्रिया