
हिन्द महासागरको विशाल जलक्षेत्रमा अमेरिकी र इरानी सेनाबीचको तनाव फेरि एकपटक उत्कर्षमा पुगेको छ।
सिविएसन्यूजले जनाए अनुसार बिहीबार अमेरिकी सेनाले इरानसँग सम्बन्ध रहेको भनिएको एक ठूलो तेल ट्याङ्कर जहाजलाई आफ्नो नियन्त्रणमा लिएको छ।
‘मजेस्टिक एक्स’ नाम गरेको यो जहाज कुनै पनि देशको झण्डा बिना हिँडिरहेको अवस्थामा भेटिएको थियो।
अमेरिकी रक्षा विभागका अनुसार, यो कारवाही रातीको समयमा गरिएको थियो। सेनाले सार्वजनिक गरेको श्रव्यदृश्य(भिडियो) मा अमेरिकी कमाण्डोहरू उदग्रविमान(हेलिकप्टर)हाट डोरीको सहायताले जहाजमा ओर्लिरहेको देखिन्छ। यो जहाजले इरानबाट तेल ओसारपसार गरिरहेको र यसले अन्तर्राष्ट्रिय नियमहरू उल्लंघन गरेको अमेरिकाको दाबी छ।
अमेरिकी सैन्य अधिकारीहरूले भनेका छन्, “हामी समुद्री मार्गमा हुने अवैध गतिविधिलाई रोक्न र इरानलाई सहयोग पुऱ्याउने सञ्जालहरूलाई ध्वस्त पार्न जहाँ पनि पुग्न तयार छौँ।”
यो घटनालाई ‘जस्तालाई तस्तै’कारबाहीका रूपमा हेरिएको छ। अमेरिकी कारबाही हुनुभन्दा एक दिन अगाडि मात्रै इरानले पनि दुईवटा व्यापारिक जहाजहरूलाई हर्मुज जलसन्धिबाट आफ्नो कब्जामा लिएको थियो। इरानले ती जहाजहरूले आफ्नो समुद्री नाकाबन्दी तोडेको आरोप लगाएको छ।
यसैबीच, इरानले कब्जामा लिएका जहाजहरूमा १५ जना फिलिपिन्सका नागरिकहरू काम गरिरहेको पुष्टि भएको छ।
फिलिपिन्स सरकारले आफ्ना नागरिकहरू सुरक्षित रहेको र उनीहरूका परिवारसँग सम्पर्क भइरहेको बताएको छ।
प्रतिक्रिया