
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान नेतृत्वमा ठुलो अन्योल र विवाद रहेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले इरानले आफ्नो वास्तविक नेता को हो भनेर छुट्याउनै नसकेको बताएका छन्। ट्रम्पका अनुसार इरानभित्र अहिले दुई समूहबीच ठुलो भिडन्त भइरहेको छ।
एउटा समूह ‘कट्टरपन्थी’ हरूको हो, जो युद्धको मैदानमा नराम्ररी हारिरहेका छन्। अर्को समूह ‘नरमपन्थी’ हरूको हो, जसले अहिले बिस्तारै प्रभाव जमाउँदै लगेका छन्। ट्रम्पले इरानभित्रको यो आन्तरिक झगडालाई “पागलपन” को संज्ञा दिएका छन्।
अप्रिल ८ देखि सुरु भएको युद्धविरामका क्रममा ट्रम्पले पटक-पटक आफ्नो टोलीले सम्झौता गर्न चाहने इरानी अधिकारीहरूसँग कुराकानी गरिरहेको बताएका छन्।
तर, केही समयअघि ट्रम्पले इरानका केही मुख्य नेताहरूलाई सैन्य कारबाहीमा मारेका कारण परिस्थिति केही जटिल बनेको कुरालाई पनि उनले स्वीकार गरेका छन्।
अहिलेको युद्धविरामलाई ट्रम्पले केही समयका लागि थप गरेका छन्। उनले यसो गर्नुको मुख्य कारण समस्यामा परेको इरानी नेतृत्वलाई एकताबद्ध भएर शान्तिको नयाँ र ठोस प्रस्ताव ल्याउन समय दिनु रहेको बताएका छन्।
इरानले अब युद्ध अन्त्य गर्नका लागि सबैको सहमति भएको एउटा साझा प्रस्ताव ल्याउनुपर्ने ट्रम्पको सर्त छ।
प्रतिक्रिया