
अमेरिकालाई युद्धमा सहयोग गरेका करिब १,१०० जना अफगान नागरिकहरूलाई अहिले कतारको एक पारवाहन शिविर (ट्रान्जिट क्याम्प)मा राखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उनीहरूलाई अमेरिकामा पुनर्वास गराउन रोक लगाएपछि, अब उनीहरूलाई अफ्रिकी देश ‘प्रजातान्त्रिक गणतन्त्र कंगो’ पठाउने योजना बनाइएको खबर बाहिर आएको छ।
यस समूहमा दोभासेहरू , अमेरिकी सेनाका आफन्तहरू, ४०० भन्दा बढी बालबालिका र सयौँ महिलाहरू रहेका छन्। अधिकारवादी संस्थाका अध्यक्ष शन भानडाइभरका अनुसार यी अफगानहरूलाई दुईवटा विकल्प दिइनेछ । उनीहरुले कि कंगो जानुपर्ने नत्र आफ्नै देश अफगानिस्तान फर्कनुपर्ने बताईएको छ ।
भानडाइभरले यसलाई “स्वैच्छिक छनोट” भन्न नसकिने बताएका छन्। उनका अनुसार एकातिर तालिबानको डर छ जसले अमेरिकी सहयोगीहरूलाई मार्न सक्छ भने अर्कोतिर कंगोमा भीषण गृहयुद्ध र मानवीय संकट छ। कंगोमा अहिले ९० लाखभन्दा बढी मानिसहरू आन्तरिक युद्धका कारण विस्थापित छन्।
अमेरिकी विदेश बिभागले यसबारे विस्तृत विवरण दिन अस्वीकार गरेको पत्रपत्रिकाले उल्लेख गरेका छन् । तर, उनीहरूले अफगानहरूलाई तेस्रो मुलुकमा पठाउनु एक “सकारात्मक समाधान” भएको र यसले अमेरिकी जनताको सुरक्षालाई पनि मजबुत बनाउने दाबी गरेका छन्।
यसअघि १ लाख ९० हजारभन्दा बढी अफगानहरूलाई कडा सुरक्षा जाँचपछि अमेरिकामा पुनर्वास गराइसकिएको छ। अहिले बाँकी रहेका १,१०० जनालाई पनि सोही प्रक्रियाबाट जाँच गरिएको थियो। तर, ट्रम्प प्रशासनले अध्यागमन नियममा कडाइ गरेपछि उनीहरूको अमेरिका आउने बाटो रोकिएको हो। भूतपूर्व सैनिक, सांसद र अधिकारवादीहरूले यो योजनाको कडा विरोध गर्दै उनीहरूलाई अमेरिकामै ल्याउन माग गरिरहेका छन्।
प्रतिक्रिया