
इरानका निर्वासित पूर्व राजकुमार रेजा पहलवीले अमेरिका र इरानबीच भएको युद्धविरामको कडा आलोचना गरेका छन । जर्मनीको बर्लिनमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सम्झौताले इरानी सरकारको व्यवहार परिवर्तन हुन्छ भन्ने गलत आशा राखेको तर्क गरे ।
पहलवीले भने , “मलाई लाग्दैन कि इरानी शासकहरू अचानक व्यावहारिक बन्नेछन्। कूटनीतिलाई मौका दिनु हुँदैन भनेको होइन, तर अहिलेसम्म कूटनीतिलाई पर्याप्त मौका दिइसकिएको छ।” उनले युरोपेली देशहरूलाई इरानमा लोकतन्त्रका लागि लडिरहेका मानिसहरूलाई थप सहयोग गर्न आग्रह गरेका छन् ।
उनले गम्भीर आरोप लगाउँदै भने पछिल्लो दुई हप्तामा इरानमा १९ जना राजनीतिक बन्दीहरूलाई मृत्युदण्ड दिइएको छ र अन्य २० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। उनले प्रश्न गरे , “के स्वतन्त्र विश्वले केही ठोस कदम चाल्छ वा यो हत्या शृङ्खला चुपचाप हेरेर बस्छ?”
एपीका अनुसार पत्रकार सम्मेलन सकेर भवनबाट बाहिरिने क्रममा एक अज्ञात व्यक्तिले पहलवीमाथि रातो तरल पदार्थ छ्यापेका थिए। उक्त घटनापछि उनले आफ्ना समर्थकहरूलाई हात हल्लाएर अभिवादन गरे र कार चढेर बाहिरिए । आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएको छ।
रेजा पहलवी विगत ५० वर्षदेखि निर्वासनमा छन् । उनि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । सन् १९७९ मा उहाँका पिता (इरानका शाह) विरुद्ध जनआक्रोश चुलिएपछि उनको परिवारले सत्ता छोड्नुपरेको थियो। यति लामो समयपछि पनि पहलवीले आफूलाई इरानको भविष्यको एक प्रमुख पात्रका रूपमा उभ्याउने प्रयास गरिरहेका छन् ।
प्रतिक्रिया