समुन्द्रमा अमेरिकाको कडा पहरा: ३१ वटा जहाजलाई बीच बाटोबाटै फर्काइयो

अमेरिकी नाकाबन्दी तोड्ने प्रयास विफल, एउटा जहाज नौसेनाको नियन्त्रणमा

इनेप्लिज २०८३ वैशाख १० गते १०:२३ मा प्रकाशित

अमेरिकी केन्द्रीय कमाण्डले इरानमाथि लगाइएको समुद्री नाकाबन्दीका क्रममा हालसम्म ३१ वटा जहाजहरूलाई बीच बाटोबाटै फिर्ता पठाएको जानकारी दिएको छ। बुधबार राती सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै अमेरिकाले ती जहाजहरूलाई कि त बाटो मोड्न लगाएको वा इरानकै बन्दरगाहमा फर्कन बाध्य पारेको बताएको छ।

केही जहाजहरूले यो नाकाबन्दी छलेर निस्कन सफल भएको भन्ने खबरहरू बाहिर आएका थिए, तर अमेरिकी सेनाले ती खबरहरू गलत भएको दाबी गरेको छ। यद्यपि, ‘डोरेना’ नामको एउटा जहाजले भने नाकाबन्दी तोड्ने प्रयास गरेको थियो। अहिले उक्त जहाजलाई अमेरिकी नौसेनाको एउटा युद्धपोतले हिन्द महासागरमा आफ्नो नियन्त्रणमा लिएर पछ्याउदै लगि रहेको छ। फिर्ता पठाइएका ३१ जहाजहरूको सूचीमा यो जहाजलाई पनि समावेश गरिएको छ।

यसैबीच, इरानको सरकारी टेलिभिजन(दूरदर्शन)ले एक नाटकीय श्रब्यदृश्य (भिडियो) सार्वजनिक गरेको छ। उक्त श्रब्यदृश्य (भिडियो)मा इरानी सेनाले दुईवटा ठूला व्यापारिक जहाजहरूलाई कब्जामा लिएको देखाइएको छ। इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ का अनुसार ‘एमएससी फ्रान्सेस्का’ र ‘एपामिनोन्डास’ नामका ती जहाजहरूले सुटुक्क हर्मोज जलसन्धिबाट बाहिरिने प्रयास गरिरहेका थिए।

श्रब्यदृश्य (भिडियो)मा इरानी सेनाका तीव्र गतिका डुङ्गाहरू ती ठूला जहाजतिर कुदिरहेको देखिन्छ। अनुहार छोपेका र हातमा लामा बन्दुक बोकेका सैनिकहरू भर्‍याङबाट जहाजमा चढिरहेको दृश्यले समुन्द्रमा तनाव निकै बढेको सङ्केत गर्दछ।

प्रतिक्रिया