
गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको महिला विभागले सन् २०२५-२०२७ कार्यकालका लागि आफ्नो पूर्ण कार्यसमिति सार्वजनिक गरेको छ। संघकी उपाध्यक्ष तथा महिला विभाग प्रमुख सुनिता खत्रीले सामाजिक सञ्जालमार्फत यो शक्तिशाली र ऊर्जावान् टोलीको परिचय गराएकी छन् ।
सुनिता खत्रीको नेतृत्वमा रहेको यस टोलीमा अमेरिकाका विभिन्न क्षेत्र र समुदायमा सक्रिय रहेका प्रभावशाली महिलाहरूलाई समेटिएको छ। टोलीको मुख्य उद्देश्य नेपाली समुदायमा महिलाहरूको भूमिकालाई अझ बलियो बनाउने र उनीहरूलाई विभिन्न अवसरहरूसँग जोड्नु रहेको छ।
यस टोलीमा लक्ष्मी थापा र करिना कुँवरले सह-अध्यक्ष को जिम्मेवारी सम्हालेका छन् । यस्तै, टोलीमा १३ जनाभन्दा बढी सक्रिय महिलाहरूलाई संयोजकको रूपमा महत्वपूर्ण जिम्मेवारी दिइएको छ। उनिहरूले आ-आफ्नो क्षेत्र र समुदायमा रहेका नेपाली महिलाहरूको समस्या बुझ्ने र समाधानका लागि काम गर्नेछन्।
टोलीलाई सही बाटो देखाउन र व्यवस्थित रूपमा अघि बढाउन एक अनुभवी सल्लाहकार समिति पनि गठन गरिएको हो । तृष्णा काफ्ले शर्मा, अम्बिका लोहनी, सरिता गुरुङ, सिर्जना काफ्ले र यशोदा तिम्सिना सहित कूल ५ जना सल्लाहकारको रूपमा आफ्नो अनुभव र सुझावमार्फत टोलीलाई मार्गनिर्देशन गर्ने छन् ।
आफ्नो टोलीको परिचय दिँदै उपाध्यक्ष सुनिता खत्रीले भनेकी छन् , “हामी सबै मिलेर महिला सशक्तिकरण, एकता र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध छौं। यो टोलीले नेपाली समुदायको उत्थान र महिलाहरूको हकहितका लागि साझा लक्ष्यका साथ काम गर्नेछ।”
यो नयाँ टोलीको गठनसँगै अमेरिकामा रहेका नेपाली महिलाहरूमा नयाँ उत्साह छाएको छ। सामूहिक सहकार्य र साझा उद्देश्यका साथ अघि बढ्ने यो महिला टोलीले आगामी दिनमा धेरै अर्थपूर्ण र प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया