
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई अनिश्चितकालका लागि लम्ब्याउने घोषणा गरे पछि पाकिस्तानले स्वागत गरेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिँदै यो युद्धविरामले कूटनीतिक वार्ताका लागि बाटो खोल्ने विश्वास व्यक्त गरे । उनले दुवै पक्षलाई शान्ति कायम राख्न आग्रह गर्दै पाकिस्तानले सधैं सहमतिको प्रयास जारी राख्ने बताएका छन् ।
यसैबीच, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानको आर्थिक अवस्था निकै कमजोर भएको दाबी गरेका छन् । हर्मुज जलडमरूमा अमेरिकी अवरोधका कारण इरानले आर्थिक संकट भोगिरहेको र उसलाई तत्काल नगदको आवश्यकता परेको ट्रम्पको भनाइ छ। ट्रम्पले लेखेका छन् , “इरान आर्थिक रूपमा ध्वस्त हुँदैछ! उनीहरू हर्मुजको बाटो तुरुन्तै खुलाउन चाहन्छन् किनभने उनीहरूलाई पैसाको अत्यन्तै खाँचो छ।”
राष्ट्रपति ट्रम्पका अनुसार इरानले आफ्नो साख जोगाउनका लागि मात्र सो समुद्री बाटो बन्द गर्ने धम्की दिएको हो, तर वास्तवमा उनीहरू व्यापार सुचारु गर्न आतुर छन्। ट्रम्पले केही दिनअघि मात्र आफूलाई इरानले बाटो खोल्न चाहेको जानकारी आएको भए तापनि आफूले अहिले नै त्यो बाटो नखोल्ने अडान राखेका छन् । राष्ट्रपति ट्रम्पका अनुसार यो नाकाबन्दी नै इरानलाई नयाँ सम्झौतामा ल्याउने मुख्य कडी हो।
ट्रम्पले कडा शब्दमा चेतावनी दिँदै भनेका छान यदि अहिले नै नाकाबन्दी हटाइयो भने इरानसँग कहिल्यै राम्रो सम्झौता हुन सक्दैन। साथै, उनले अमेरिकी सेनाको प्रशंसा गर्दै विगतका सैन्य कारबाहीमा इरानको नौसेना, वायुसेना र आणविक प्रयोगशालाहरू नष्ट गरिएको दाबी समेत गए ।
प्रतिक्रिया