
इरानका मुख्य वार्ताकारहरूले अमेरिकासँगको दोस्रो चरणको वार्ताप्रति ठूलो आशंका व्यक्त गरेका छन्। इरानी संसदका सभामुख मोहम्मद बागेर कलिबाफले मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “हामी धम्कीको छायामा बसेर वार्ता स्वीकार गर्दैनौं।”
एपीले जनाए अनुसार उनले अमेरिकाले इरानलाई आत्मसमर्पण गराउन खोजेको आरोप लगाउँदै इरान बरु युद्धको मैदानमा “नयाँ कार्डहरू” (नयाँ रणनीति वा शक्ति) देखाउन तयार रहेको चेतावनी दिएका छन्।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराक्चीले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको कुराकानीमा पनि यही सन्देश पठाएको बताएका छन्। बुधबार युद्धविराम सकिएपछि इरानले के गर्छ वा अमेरिकासँग फेरि वार्तामा बस्छ कि बस्दैन भन्नेबारे उनले स्पष्ट पारेका छैनन्। उनले भने, “हामी अर्को पक्षको व्यवहार हेर्नेछौं र आफ्नो राष्ट्रिय सुरक्षाका लागि उचित निर्णय लिनेछौं।”
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सम्हाल्ने आफ्नो तरिकालाई लिएर आलोचना गर्ने डेमोक्रेटिक (विपक्षी) र संचार माध्यम प्रति कडा आक्रोश पोखेका छन्। उनले विपक्षीहरूलाई “देशद्रोही” को संज्ञा दिँदै उनीहरूले प्रशासनलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन्। ट्रम्पले आफू कुनै पनि हालतमा कमजोर सम्झौताका लागि हतार नगर्ने स्पष्ट पारेका छन्।
ट्रम्पले यो कारवाही भेनेजुएलाको जस्तै तर त्योभन्दा ठूलो र जटिल भएको दाबी गर्दै भनेका छन्, “समय मेरो शत्रु होइन, हामी सही दिशामा छौं।” उनले सन् २०१५ मा पूर्व राष्ट्रपति ओबामाले गरेको इरान सम्झौतासँग यसलाई तुलना नगर्न पनि चेतावनी दिएका छन्।
प्रतिक्रिया