
अमेरिकाको आयोवा विश्वविद्यालय नजिकै आइतबार बिहानै भएको एक गोलीकाण्डमा परेर धेरै मानिसहरू घाइते भएका छन्। विश्वविद्यालय प्रशासन र स्थानीय प्रहरीका अनुसार घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोलीले तत्काल पुगेर घाइतेहरूको उद्धार गरेका थिए।
आयोवा नगर प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अहिले धेरै घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको छ। उनीहरूको अवस्था कस्तो छ भन्नेबारे विस्तृत जानकारी आउन बाँकी छ।”
प्रहरीका अनुसार आइतबार बिहान १:४६ बजे ‘इस्ट कलेज स्ट्रिट’ अर्थात् मार्गमा ठूलो समूहबीच झगडा भइरहेको सूचना आएको थियो। प्रहरी टोली घटनास्थल पुग्ने बित्तिकै गोली चलेको आवाज सुनिएको थियो। विश्वविद्यालयले बिहान २:०३ बजे सुरक्षा सतर्कता जारी गर्दै आफ्ना विद्यार्थी र कर्मचारीहरूलाई सो क्षेत्रमा नजान आग्रह गरेको थियो।
विश्वविद्यालयको ‘अलर्ट’ अर्थात् सतर्कतामा भनिएको थियो, “घटनास्थलमा उद्धारकर्मीहरू पुगिसकेका छन् र केही मानिसहरू घाइते भएको पुष्टि भएको छ। कृपया यो क्षेत्रबाट टाढै रहनुहोला।”
एबिसीन्यूजका अनुसार प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन। आक्रमणकारीको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया