
इरानको समर्थन पाएको लेबनानी समूह ‘हेजबुल्लाह’ का नेता नइम कासिमले अमेरिकाले अघि सारेको युद्धविरामको प्रस्तावलाई अस्वीकार गरेका छन्। उनले अल-मनार दूरदर्शन (टिभी)मार्फत यो प्रस्ताव लेबनानका लागि “अपमानजनक” भएको बताए।
अमेरिकाले १० दिनको युद्धविराम गर्ने र इजरायललाई आत्मरक्षाका लागि जुनसुकै बेला आक्रमण गर्न पाउने अधिकार प्रस्तावमा राखेको थियो। तर, यसमा लेबनानको अधिकारबारे केही नभनिएकाले हेजबुल्लाहले यसलाई मान्न नसकिने बताएको छ।
गाजाको उत्तरी क्षेत्रमा इजरायली सेनाको गोलाबारीबाट युनिसेफका लागि काम गर्ने दुईजना माल बाहक गाडी चालकको मृत्यु भएको छ। उनीहरू सर्वसाधारणका लागि पिउने पानी ओसारपसार गरिरहेका थिए।
यो घटनापछि युनिसेफले त्यस क्षेत्रमा आफ्नो काम तत्कालका लागि बन्द गरेको छ। इजरायली सेनाले भने शंकास्पद लडाकुहरूमाथि गोली चलाएको दाबी गर्दै घटनाको छानबिन भइरहेको बताएको छ।
लेबनानको दक्षिणी क्षेत्रमा शनिबार बिहान संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथि आक्रमण भएको छ। यस हमलामा एकजना फ्रान्सेली सैनिकको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस घटनाको कडा शब्दमा निन्दा गरेका छन्। फ्रान्सका राष्ट्रपतिले यस हमलाको दोष हेजबुल्लाहमाथि लगाएका छन्, तर हेजबुल्लाहले भने यसमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ।
प्रतिक्रिया