
डेन्भर, कोलोराडो, १२ अप्रिल, २०२६
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको आयोजनामा डेन्भरमा एक साहित्यिक कृति लोकार्पण सहित स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा विशिष्ठ साहित्यकार तथा गीतकार डा. ज्ञानेन्द्र गदालका दुई नयाँ कृति लोकार्पण गरिनुका साथै वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीलाई विशेष सम्मान प्रदान गरियो। अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम दुई चरणमा विभाजन गरिएको भएको थियो ।

पहिलो चरणमा डा. गदालद्वारा लिखित बालगीत सङ्ग्रह ‘भोलिको आश उज्यालो प्रकाश’ र उपन्यास ‘कुमुदिनी’ को औपचारिक विमोचन गरियो। कार्यक्रमका सभापति किरण अधिकारी, प्रमुख अतिथि दिनेश अधिकारी र सर्जकका सुपुत्रद्वय सरगम र सरल गदालले संयुक्त रूपमा कृतिहरूको लोकार्पण गरेका थिए। लोकार्पित कृतिहरूमध्ये बालगीत सङ्ग्रहमाथि साहित्यकार प्रमिला शर्माले र उपन्यासमाथि साहित्यकार तथा कलाकार कृष्ण मुरारी ढुङ्गेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । सो क्रममा लेखक डा. गदालले नविनतम आफ्ना दुई कृतिको जन्म बारे संक्षिप्त प्रकाश पार्दै कार्यक्रमका आयोजक संस्था र कृतिका समीक्षकहरुप्रति धन्यवाद सहित आभार व्यक्त गर्नुभयो ।

दोस्रो चरणमा कवि दिनेश अधिकारीको सम्मान र वहाँका काव्य श्रवन कार्यक्रम रह्यो। अन्तर्राष्ट्रिय गीतकार सङ्घ (INLA) को ‘दोश्रो INLA – ज्ञानेन्द्र गदाल गीत सम्मान’ ग्रहण गर्न अमेरिका आउनुभएका विशिष्ठ कवि एवं लोकप्रिय गीतकार दिनेश अधिकारीलाई अनेसास कोलोराडोले औपचारिक सम्मान अर्पण गर्यो। कार्यक्रममा कवि एवम गीतकार अधिकारीको साहित्यिक परिचय गजलकार मिलन कोइरालाले
प्रस्तुत गर्नुभएको थियो भने अनेसास (INLS) ट्रस्टी बोर्डका सभापति पदम विश्वकर्मा र शाखा अध्यक्ष किरण अधिकारीले उहाँलाई सम्मान अर्पण गर्नुभएको थियो।

सम्मानित व्यक्तित्व अधिकारीले कार्यक्रममा छोटो मन्तव्य सहित आफ्ना आधा दर्जनभन्दा बढी सिर्जनाहरु वाचन गर्नुका साथै उपस्थित सहभागीहरुसँग साहित्यिक अन्तरक्रिया समेत गर्नुभयो। अन्तरक्रियाका क्रममा उहाँले आफ्ना साहित्यिक अनुभव र सिर्जनात्मक यात्राका बारे रमाइलो जानकारी समेत प्रस्तुत गर्नुभएको थियो ।

अनेसासको पहिलो च्याप्टरको रूपमा स्थापित कोलोराडो शाखाले विगत २३ वर्षदेखि यस्ता साहित्यिक र सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ। नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा समर्पित यस्ता गतिविधिले प्रवासमा बसेका नेपालीहरूको मन, मस्तिष्क र पहिचानलाई जोड्ने काम गरिरहेको छ।

यस कार्यक्रमले फेरि एकपटक प्रमाणित गरेको छ- दूरीले भूगोलदेखि टाढा बनाउँछ, तर भाषा र साहित्यले भौगोलिक दुरी कम पार्छ वा मुटुहरु सधैं नजिक राख्छ।
प्रतिक्रिया