
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ताको अर्को चरण आगामी दुई दिनभित्रै पाकिस्तानको इस्लामावादमा हुन सक्ने बताएका छन् । मंगलबार ‘न्यूयोर्क पोस्ट’ सँगको एक दूरवार्ता (टेलिफोन )अन्तर्वार्तामा उनले यो जानकारी दिएका हुन् ।
सुरुमा राष्ट्रपति ट्रम्पले भविष्यको वार्ताका लागि छलफल भइरहेको तर प्रक्रिया “अलि ढिलो” भएको बताएका थिए । उनले दोस्रो चरणको प्रत्यक्ष वार्ता युरोपमा हुन सक्ने सम्भावना पनि औँल्याएका थिए। तर, केही समयपछि उनले पत्रकारलाई फेरि दूरवार्ता गरेर इस्लामावादमै बस्न सुझाव दिए ।
ट्रम्पले भने, “तपाई त्यही अर्थात् (इस्लामावाद) बस्नुपर्छ, किनकि आगामी दुई दिनभित्र त्यहाँ केही हुन सक्छ। हामी अब त्यहीँ गएर वार्ता गर्न बढी इच्छुक छौँ।”
राष्ट्रपति ट्रम्पले पाकिस्तानका सेना प्रमुख असिम मुनिरको खुलेर प्रशंसा गरे । उनले भने “हामी त्यहाँ जानुको कारण के हो भने, त्यहाँका सेना प्रमुख निकै राम्रो काम गरि रहेका छन् ।”
यसअघि युरोपमा वार्ता हुने चर्चा भए पनि ट्रम्पको यो पछिल्लो भनाइले अब अमेरिका र इरानबीचको महत्त्वपूर्ण वार्ता पाकिस्तानको राजधानी इस्लामावादमै हुने सम्भावना बलियो बनाएको छ।
प्रतिक्रिया