
अमेरिकी अर्थ बिभाग (ट्रेजरी डिपार्टमेन्ट) ले इरानी तेलमाथि लगाइएको प्रतिबन्धलाई फेरि निरन्तरता दिने निर्णय गरेको छ। एबिसीन्यूजले जनाए अनुसार यसअघि समुद्रमा भइरहेको इरानी तेलको व्यापारमा केही समयका लागि दिइएको छुट अब नवीकरण गरिने छैन। यो नयाँ नियम आउँदो आइतबार बिहान १२:०१ बजेदेखि पूर्ण रूपमा लागू हुनेछ।
अमेरिकाले सामाजिक सञ्जालमार्फत यो कदमलाई “आर्थिक क्रोध” को संज्ञा दिएको छ। यसको अर्थ इरानको अर्थतन्त्रलाई कमजोर बनाउन अमेरिका निकै आक्रामक रूपमा अघि बढ्दैछ। अर्थ विभागले विश्वभरका बैंक र वित्तीय संस्थाहरूलाई चेतावनी दिएको छ । अमेरिकाले यदि उनीहरूले इरानसँग कुनै पनि प्रकारको तेल व्यापार गरेमा उनीहरूमाथि पनि अमेरिकाले कडा कारबाही (सेकेन्डरी स्यांक्सन) गर्ने जनाएको छ ।
केही समयअघि विश्व बजारमा तेलको अभाव नहोस् र मूल्य धेरै नबढोस् भनेर अमेरिकाले इरानी र रुसी तेलमाथिको प्रतिबन्धमा केही खुकुलो पारेको थियो। तर, रुसी तेलमाथिको छुट अप्रिल ११ मै समाप्त भै सकेको छ र अब आइतबारदेखि इरानी तेलमा पनि रोक लाग्नेछ।
यो निर्णयले गर्दा अब इरानले आफ्नो तेल विदेशमा सजिलै बेच्न पाउने छैन। यदि कुनै देश वा बैंकले इरानलाई मद्दत गरेमा उनीहरूले अमेरिकासँगको व्यापारिक सम्बन्ध गुमाउनु पर्ने हुन सक्छ। अमेरिकाको यो कदमले इरानमाथि ठूलो आर्थिक दबाब सिर्जना गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया