अमेरिकी प्रतिबन्धका जहाजहरू हर्मुज जलडमरू पार गर्दै: तनाबका बीच ठूला ट्याङ्करहरूको आवतजावत

इनेप्लिज २०८३ वैशाख १ गते १०:४७ मा प्रकाशित

अमेरिकाले प्रतिबन्ध लगाएका केही ठूला तेल ट्याङ्करहरू ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुज जलडमरू) भनिने महत्त्वपूर्ण समुद्री बाटो पार गर्न सफल भएका छन्। जहाजको स्थान (लोकेसन )पछ्याउने प्रविधि र विज्ञहरूका अनुसार यी जहाजहरूले सोमबार र मंगलबार सो क्षेत्र पार गरेका हुन्।

‘रिच स्टारी’ नामको एउटा ठूलो ट्याङ्कर(तेल बाहन) सोमबार हर्मुज जलडमरू नजिक पुगेर अचानक फर्किएको थियो। तर मंगलबारको तथ्याङ्कले यो जहाज सफलतापूर्वक त्यो बाटो काटेर ‘पर्सियन गल्फ’ बाट ‘ओमानको खाडी’ तर्फ गएको देखाएको छ। हाल यो जहाज जलडमरूको पूर्वी मुखमा रोकिएको देखिएको छ। त्यहाँ अन्य धेरै जहाजहरू पनि लस्करै बसिरहेका छन्।

यस्तै, ‘एल्पिस’ नामको अर्को प्रतिबन्धित जहाजले पनि सोमबार नै यो बाटो पार गरेको थियो। यो जहाज पनि बाहिर निस्कने बित्तिकै समुद्रमा अडिएको देखिएको छ। विज्ञहरूका अनुसार यी जहाजहरूले बाटो त पार गरे, तर सुरक्षा वा अन्य कारणले गर्दा अहिले अगाडि नबढी रोकिएका छन्।

सन् २०२० मा इरानसँगको सम्बन्धका कारण अमेरिकाले प्रतिबन्ध लगाएको ‘मुरलीकिशन’ नामको केमिकल ट्याङ्कर(रसायन तेल बाहन) पनि मंगलबार बिहान सोही बाटो हुँदै पश्चिमतिर लागेको छ। जब सोमबार अमेरिकाले इरानी बन्दरगाहहरूमा कडा निगरानी र नाकाबन्दी सुरु गरेको थियो, यो जहाज पहिले नै ओमानको खाडीमा रहेको बुझिएको छ।

हर्मुज जलडमरू संसारकै सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो । यहाँबाट विश्वको धेरै तेल ओसारपसार हुन्छ। अमेरिका र इरानबीचको तनाबका कारण यो क्षेत्रमा अहिले कडा निगरानी छ।

सुरक्षाको कडा नियम हुँदाहुँदै पनि केही ‘कालो सूची’ मा परेका जहाजहरू लुकीछिपी वा चुनौती दिँदै हिँडिरहेका छन्।

प्रतिक्रिया