अमेरिका नेपाल मेडिकल फाउन्डेसन(एएनएमएफ)को ३०औं वार्षिक साधारण सभा शिकागोमा हुने,तयारी तीब्र गतिमा

नेपालको स्वास्थ्य क्षेत्र सुधार्न चिकित्सकहरूको वृहत् भेला: ३० वर्षको गौरवमय यात्रा

इनेप्लिज २०८३ वैशाख १ गते १:४२ मा प्रकाशित

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा विगत तीन दशकदेखि निरन्तर योगदान पुर्‍याउँदै आएको अग्रणी संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को ३०औं वार्षिक साधारण सभा यस वर्ष इलिनोइको शिकागोमा आयोजना हुने भएको छ। आगामी मे २९ देखि ३१, २०२६ सम्म चल्ने यो कार्यक्रम ह्विलिङस्थित ‘द वेस्टिन शिकागो नर्थ शोर’ मा हुनेछ।

हाल डा. विष्णु सापकोटा यसका अध्यक्ष हुन् भने यस संस्थाको मुख्य उद्देश्य नेपालमा चिकित्सा तालिम र स्वास्थ्य सेवाको अभ्यासलाई आधुनिक र प्रभावकारी बनाउनु हो। सन् १९९७ मा डा. अर्जुन कार्कीको संस्थापक नेतृत्वमा बोस्टनबाट सुरु भएको यो यात्रा आज ३०औं वर्षमा प्रवेश गरेको छ। यो संस्था पूर्ण रूपमा स्वयंसेवकहरूद्वारा सञ्चालित एक परोपकारी संस्था ५०१ (सि) (३) हो।

एएनएमएफले स्थापना कालदेखि नै नेपालमा ३०० भन्दा बढी स्वास्थ्य परियोजनाहरूमा सहयोग गरिसकेको छ। यसले अस्पतालको भौतिक पूर्वाधार विकास, जनशक्ति तालिम,दूरउपचार प्रणाली( टेलिमेडिसिन), र चिकित्सा अनुसन्धानमा ठूलो लगानी गरेको छ। विशेषगरी २०७२ को महाभूकम्प र कोभिड-१९ को महामारी जस्ता कठिन समयमा संस्थाले नेपाललाई ठूलो मानवीय र प्राविधिक सहयोग उपलब्ध गराएको थियो।

यस ३० औं साधारण सभामा अमेरिका र नेपालका स्वास्थ्य विज्ञहरू, चिकित्सकहरू र सरोकारवालाहरू भेला भएर गत वर्षका उपलब्धिहरूको समीक्षा गर्नेछन्। साथै, आगामी दिनमा नेपालको स्वास्थ्य अवस्थालाई कसरी अझ सुदृढ बनाउने भन्ने विषयमा विशेष छलफल र कार्ययोजना तय गरिनेछ।

आयोजकले सबै सदस्य र शुभचिन्तकहरूलाई यस महत्वपूर्ण सभामा सहभागी हुन आग्रह गरेका छन्। कार्यक्रमबारे थप जानकारी वा सोधपुछका लागि [email protected] मा सम्पर्क गर्न सकिनेछ।

नेपालको स्वास्थ्य क्षेत्रमा दिगो प्रभाव पार्न चाहने जोकोही पनि सदस्य बनेर यस अभियानमा जोडिन सक्नेछन्।

सम्मेलनमा दर्ता गर्न यहाँ थिच्नु होला :

https://conference.anmf.org/

प्रतिक्रिया