भर्जिनियामा ‘नयाँ साल, नयाँ नेपाल’ उत्सवको तयारी: भव्य सांगीतिक साँझ हुने

नयाँ वर्षको उपलक्ष्यमा डिसी क्षेत्रमा विशेष कार्यक्रम : संगीत र संस्कृतिको अनुपम संगम

इनेप्लिज २०८३ वैशाख १ गते १:१७ मा प्रकाशित

फल्स चर्च, भर्जिनिया । नेपाली नयाँ वर्ष २०८३ को आगमनलाई स्वागत गर्न अमेरिकाको भर्जिनिया राज्यको फल्सचर्च शहरमा ‘नयाँ साल, नयाँ नेपाल’ नामक विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। ‘आवर एक्स इन्टरटेनमेन्ट’ र ‘बेसक्याम्प बिट्स’ को संयुक्त आयोजनामा यो उत्सव हुन लागेको हो।

यो भव्य कार्यक्रम आगामी अप्रिल १८, शनिबार का दिन भर्जिनियाको फल्स चर्चस्थित क्रेसन्डो स्टुडियो’मा आयोजना गरिनेछ। बेलुका ७:०० बजेदेखि सुरु हुने यो कार्यक्रम मध्यरात १:०० बजेसम्म चल्नेछ। कार्यक्रममा नेपाली कला, संगीत र संस्कृतिको प्रदर्शन गरिने आयोजकले जनाएका छन्।

यस कार्यक्रममा सहभागीहरूले डिजेको तालमा आधुनिक संगीतको आनन्द लिनुका साथै नेपाली मौलिकता झल्किने प्रस्तुतिहरू हेर्न पाउनेछन्। ‘नमस्ते नयाँ वर्ष’ थिम(नारा)मा आधारित यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई एकजुट बनाउने र नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गर्ने अवसर प्रदान गर्नेछ। यस कार्यक्रमलाई ‘थ्री इ इन्टरटेनमेन्ट’ले समेत सहयोग गरेको छ।

आयोजकका अनुसार यो केवल एउटा उत्सव मात्र नभई नेपाली नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने माध्यम पनि हो। कार्यक्रम स्थल :8101 A US-29, FALLS CHURCH VA 22043 फल्स चर्चमा विशेष सजावट र सुरक्षाको व्यवस्था गरिएको छ।

नयाँ वर्षको यो अवसरमा रमाउन चाहने डिसी, मेरिल्याण्ड र भर्जिनिया क्षेत्रका नेपालीहरूका लागि यो एक उत्कृष्ट गन्तव्य हुने देखिएको छ। आयोजकले सबैलाई समयमै उपस्थित भई नयाँ वर्षको खुसीयाली साटासाट गर्न हार्दिक निमन्त्रणा गरेका छन्।

प्रतिक्रिया