
भर्जिनियाको राजधानी शहर रिचमण्डमा पाठशाला अफ एनसीआरभीएको आयोजनामा मातातीर्थ औंसीको सन्दर्भ पारेर मदर्स डे भव्यतापूर्वक मनाइएको छ ।

रिचमण्डमा बसोबास गर्ने नेपालीहरूले संचालन गरेको संस्था एनसीआरभीए अन्तर्गत संचालित सो पाठशाला सम्बद्ध करिब ५० परिवारका डेढ सय जति नेपाली स्थानीय डनक्रफ्ट क्यासल पोइन्ट पार्कमा भेला भएर आइतबार विविध कार्यक्रमका साथ आमाहरूलाई सम्मानित गरिएको हो।

पाठशालाका पूर्व अध्यक्ष पूर्ण दाहालले संचालन गरेको सो कार्यक्रमको सुरूवातमा डा डिल्ली भुर्तेलले आमाको महत्व माथि प्रकाश पार्दै सम्पूर्ण आमाहरूलाई स्वागत गरे ।

त्यसपश्चात छोराछोरीले आ आफ्ना आमाहरूको कपाल बाट्ने प्रतियोगिताको आयोजना गरियो । सबैले उत्साहका साथ सहभागिता जनाएको सो प्रतियोगितामा शिवानी बराल र राधा धिताल प्रथम,नीरू तिवारी र उनका छोराछोरी अनुष्का र श्रेयस कोइराला द्वितीय एवं स्वीकृति आचार्य र उनका छोरीहरू आत्मिका र आद्भिका ढकाल तृतीय भए ।

त्यस लगत्तै भएको खुट्टामा बाँधेका बेलुन फुटाउने प्रतियोगितामा नीरू तिवारी प्रथम र दिप्ती खनाल द्वितीय भए । दश बर्षमाथिका बाल बालिकाका लागि आयोजित सोही प्रतियोगितामा प्रसिद्धि घिमिरे प्रथम र शिवानी बराल द्वितीय भए । त्यस्तै दश बर्षमुनिका बच्चाहरूमा सौवेन श्रेष्ठले बाजी मारे ।

आफ्ना आमाको मन पर्ने खाना र रंग चिन्ने प्रतियोगितामा प्रतिभा र पुनम भट्टराईका परिवार पुरस्कृत भए ।
पुरस्कार प्राप्त गर्ने सबैलाई गिफ्ट कार्डहरू वितरण गरिएको थियो ।

आमाहरूको सम्मानका निम्ति आयोजना गरिएको सो कार्यक्रममा चियादेखि चटपटेसम्मका सबै खानेकुरा बाबुहरूले वनाएका र वितरण गरेका थिए । रिचमण्ड वरपर हुर्किरहेका नेपाली बालबालिकाहरूलाई आफ्नो भाषा, संस्कार र चाडवाडहरू बारे सिकाउने उद्देश्यले संचालित पाठशालाले हरेक अवसरमा यस्ता रचनात्मक कार्यक्रम गर्दै आएको छ।
रिचमण्ड भर्जिनियाबाट- पशुपति घिमिरे
प्रतिक्रिया