अरनिको यातायातका अध्यक्ष क्षेत्रीको राजीनामा

बेद प्रसाद घिमिरे २०८३ असार १९ गते १९:०६ मा प्रकाशित

काठमाडौं, असार १९ — राजधानी पूर्वका जिल्लामा लामो समयदेखि सार्वजनिक यातायात सेवा सञ्चालन गर्दै आएको पूर्व अरनिको यातायात कम्पनी लिमिटेड (साविक पूर्व अरनिको यातायात सेवा समिति) का अध्यक्ष केदार क्षेत्री कम्पनीको जग्गा बिक्री प्रकरणमा विवादमा तानिएका छन्। विवाद चर्किएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

कम्पनीभित्र आवश्यक प्रक्रिया र पर्याप्त सहमति बेगर कम्पनीको सम्पत्ति बिक्री प्रक्रिया अघि बढाएको आरोप क्षेत्रीमाथि लागेको छ। सोही विषयलाई लिएर व्यवसायी, सेयरधनी तथा पूर्व पदाधिकारीबीच असन्तुष्टि बढेपछि उनले सामाजिक सञ्जालमार्फत अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

पूर्व अरनिको यातायातको नाममा काभ्रेको बनेपामा करिब पाँच रोपनी जग्गा रहेको छ। कम्पनीले काठमाडौंको कोटेश्वरमा बसपार्क निर्माणका क्रममा खरिद गरिएको जग्गाको करिब साढे दुई करोड रुपैयाँ अझै जग्गाधनीलाई भुक्तानी गर्न बाँकी रहेको बताइएको छ। उक्त दायित्व व्यवस्थापन गर्न बनेपाको जग्गा बिक्री गर्ने निर्णय कम्पनीले यसअघि नै गरेको थियो।

तर, आर्थिक संकटका बेला कम्पनीलाई टेवा पुर्‍याउने उद्देश्यले खरिद गरिएको सम्पत्ति सञ्चालक समिति र व्यवसायीहरूको पर्याप्त सहमति तथा पारदर्शी प्रक्रिया बिना बिक्री गर्न खोजिएको आरोप पूर्व पदाधिकारीहरूले लगाएका छन्।

यही विषयमा बिहीबार बनेपामा कम्पनीका पूर्व अध्यक्षहरूको भेला बसेको थियो। भेलाले कम्पनीको सम्पत्ति एकलौटी रूपमा बिक्री गर्न नमिल्ने निष्कर्ष निकाल्दै अध्यक्ष क्षेत्रीलाई सामाजिक बहिष्कार गर्ने निर्णयसमेत गरेको सहभागीहरूले बताएका छन्।

पूर्व अध्यक्षहरूको विरोध चर्किएपछि क्षेत्रीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा आफूमाथि गम्भीर आरोप लगाइएको उल्लेख गर्दै ती आरोपको निष्पक्ष छानबिनका लागि नैतिक जिम्मेवारीस्वरूप अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन्।

बनेपामा आयोजित भेलामा कम्पनीका पूर्व अध्यक्षहरू योगेन्द्रनाथ कर्माचार्य, हरिभक्त भोछिभिया, रामेश्वर श्रेष्ठ, पदमलाल श्रेष्ठ, रमेश वैद्य, जितबहादुर भारती र श्याम लामाको सहभागिता रहेको थियो।

क्षेत्री २०७४ सालको स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट निर्वाचित भएका थिए। कार्यकाल सकिनुअघि उनले एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

प्रतिक्रिया