बैंकिङ क्षेत्रमा नाफा सुरक्षित गर्दा नेप्से दबाबमा, ४ अर्ब ४१ करोडको कारोबार

इनेप्लिज २०८३ असार १९ गते १०:४२ मा प्रकाशित

बेद प्रसाद घिमिरे

काठमाडौँ, असार १९ गते । धितोपत्र बजारमा बैंकिङ उपसमूहको उतारचढावले समग्र सेयर बजार (नेप्से) परिसूचक प्रभावित भएको छ। लामो समयपछि अघिल्लो कारोबार दिन उछाल आएको बैंकिङ क्षेत्रमा लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बजार पुनः दबाबमा देखिएको हो।

बजारमा अचानक नयाँ सेक्टर वा लामो समयदेखि सुस्त रहेका कम्पनीको मूल्यमा वृद्धि हुँदा लगानीकर्ताले त्यसलाई ‘सेलिङ अपर्चुनिटी’ (बिक्रीको अवसर) का रूपमा प्रयोग गर्ने विगतकै इतिहास यस पटक पनि दोहोरिएको छ। अघिल्लो दिन उच्च वृद्धि देखिएको बैंकिङ क्षेत्रमा आज तीव्र बिक्री चाप (सप्लाई) आएपछि बजार टिक्न सकेन। बैंकिङ सूचकमा गिरावट आउँदा समग्र परिसूचक प्रभावित बन्यो।

आजको बजार सुरुवाती समयमा ११ अङ्कको ‘ग्यापअप ओपन’ (बढेर खुला) भएको थियो। तर, सुरुवाती चार मिनेटमै त्यो ग्याप फिल (सन्तुलन) हुँदै दिनभर बजार सुस्त गतिमा अगाडि बढेको थियो। बजार बन्द हुने अन्तिम समयमा विशेष गरी बैंकिङ क्षेत्रका स्क्रिपहरूमा ठूलो बिक्री चाप आउँदा परिसूचक दिनकै न्यूनतम विन्दु (डे लो) आसपास पुगेर बन्द भएको छ। आज बजार खुल्दाको विन्दु नै दिनको अधिकतम विन्दु (डे हाई) कायम हुन पुग्यो।

प्राविधिक विश्लेषणका अनुसार आजको क्यान्डलले बजारमा नयाँ ‘ह्यायर हाई’ (HH) वा ‘लोअर लो’ (LL) दुवै बनाउन सकेको छैन। यसले लगानीकर्ताहरूमा ‘पर्ख र हेर’ (वेट एन्ड वाच) को मनस्थिति सिर्जना गरेको छ। बजारलाई आगामी दिनमा सकारात्मक दिशामा लैजान अब नयाँ लो (LL) नबनाई साना बडी भएका क्यान्डलहरू बन्नु आवश्यक देखिन्छ।

आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ८.३० अंक (०.३१ प्रतिशत) ले घटेर २,६७३.४० विन्दुमा बन्द भएको छ। बजार रातो (घट्दो क्रम) मा रहँदा पनि कारोबार रकममा भने केही वृद्धि भएको छ। प्राविधिक रूपमा घट्दो बजारमा भोल्युम बढ्नुलाई सकारात्मक मानिँदैन। आज बजारमा कुल ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जसमा कुल ८५ लाख ८४ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।

कारोबार भएका कम्पनीहरूमध्ये १६० कम्पनीको सेयर मूल्य घटेको छ भने १०३ कम्पनीको मूल्य बढेको छ। आज सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

यद्यपि, बजारमा दबाब देखिए पनि ठूला ब्रोकरहरूको कारोबार विवरण भने रोचक देखिएको छ। सञ्चालनमा रहेका शीर्ष १० ठूला ब्रोकरहरूमध्ये ६ वटा ब्रोकरले बिक्रीको तुलनामा खरिद धेरै गरेको पाइएको छ। यसले बजार घटेको मौकामा ठूला तथा संस्थागत लगानीकर्ताहरूले सेयर खरिद (एक्मुलेसन) गरिरहेको सङ्केत गर्दछ।

प्रतिक्रिया