
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा चेतावनी दिँदै अमेरिकी नाकाबन्दी क्षेत्रको नजिक आउने कुनै पनि इरानी जहाजलाई ध्वस्त पारिने बताएका छन् ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उनले यो टिप्पणी गरेका हुन । इरानमाथि लगाइएको अमेरिकी नाकाबन्दी सुरु हुन लागेको पूर्वसन्ध्यामा ट्रम्पको यस्तो कडा भनाइ सार्वजनिक भएको छ।
राष्ट्रपति ट्रम्पका अनुसार यसअघि अमेरिकी आक्रमणमा इरानको नौसेनाका धेरैजसो जहाजहरू नष्ट भइसकेका भए पनि अझै केही “फास्ट अट्याक सिपहरु” (द्रुत गतिमा आक्रमण गर्ने जहाजहरू) बाँकी रहेका छन्।
ट्रम्पले चेतावनी दिँदै लेखेका छन् , यदि यीमध्ये कुनै पनि जहाज हाम्रो नाकाबन्दीको नजिक आए भने तिनीहरूलाई तुरुन्तै समाप्त गरिनेछ।
हामीले समुद्रमा लागूऔषध तस्करहरूका विरुद्ध प्रयोग गर्ने प्रणाली नै यी जहाजहरूका विरुद्ध पनि प्रयोग गर्नेछौं।”
उनले यो प्रक्रिया अत्यन्तै छिटो र प्रभावकारी हुने समेत उल्लेख गर्नुभएको छ।
अर्कोतर्फ, इरानी अधिकारीहरूले अमेरिकी नाकाबन्दीको कडा आलोचना गरेका छन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले यो नाकाबन्दीलाई विश्व अर्थतन्त्र विरुद्धको “प्रतिशोधात्मक कदम” भएको टिप्पणी गरेका छन् ।
उनलो यसलाई “आफ्नो नाक काट्न आफैंलाई हानि पुर्याउने” कदमको रूपमा चित्रण गर्दै यो निर्णय अमेरिकाका लागि प्रत्युत्पादक हुने दाबी गरेका छन् ।
यसैबीच, अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार एक सूचना जारी गर्दै इरान विरुद्धको यो नाकाबन्दी कुनै पनि देशको झण्डा बोकेका सबै प्रकारका जहाजहरूमा लागू हुने स्पष्ट पारेको छ।
नाकाबन्दी क्षेत्रमा अनुमति बिना प्रवेश गर्ने वा बाहिर निस्कने कुनै पनि जहाजलाई नियन्त्रणमा लिन, बाटो मोड्न वा कब्जा गर्न सकिने सेनाले जनाएको छ।
यद्यपि, अमेरिकी अधिकारीहरूका अनुसार यो नाकाबन्दीले होर्मुज स्ट्रेट भएर अन्य देशतर्फ जाने तटस्थ जहाजहरूलाई भने कुनै बाधा पुर्याउने छैन।
नाकाबन्दीले इरानको सम्पूर्ण तटवर्ती क्षेत्रलाई ओगटेको छ। फक्सन्यूजका अनुसार मानवीय सहायताका सामग्रीहरू जस्तै खाद्यान्न, औषधि र अन्य अत्यावश्यक वस्तुहरू बोकेका जहाजहरूलाई भने निरीक्षणपछि मात्र प्रवेशको अनुमति दिइने अमेरिकी सूचनामा उल्लेख छ।
प्रतिक्रिया