
इरानको सैन्य कमान्डले सोमबार एक कडा चेतावनी जारी गर्दै यदि फारसको खाडी र ओमानको खाडीमा रहेका इरानी बन्दरगाहहरूको सुरक्षामा खतरा उत्पन्न भएमा त्यस क्षेत्रका अन्य कुनै पनि बन्दरगाह सुरक्षित नहुने बताएको छ। इरानी सेनाका प्रवक्ताले सरकारी दूरदर्शन (टेलिभिजन)मार्फत बोल्दै “शत्रुसँग सम्बन्धित” जहाजहरूलाई हर्मुज जलडमरू भएर आवतजावत गर्न नदिइने स्पष्ट पारेका छन्।
प्रवक्ताका अनुसार अन्य जहाजहरूलाई भने इरानी सैन्य नियम पालना गरेर मात्र हिँड्न दिइनेछ। साथै, इरानले वर्तमान युद्ध समाप्त भएपछि पनि हर्मुज जलडमरू नियन्त्रण गर्न एउटा “स्थायी संयन्त्र” लागू गर्ने तयारी गरेको छ। हर्मुज जलडमरू विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्ग हो, जहाँबाट संसारको कुल तेल आपूर्तिको झन्डै २० प्रतिशत हिस्सा ओसारपसार हुन्छ।
यसैबीच, अमेरिकाले हर्मुज जलडमरूमा नाकाबन्दी सुरु गर्ने घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार नाकाबन्दी सोमबार बेलुकातिर सुरु हुने सम्भावना छ।
तेलको मूल्यमा आएको यो उछालले विश्व अर्थतन्त्रमा असर पार्ने देखिएको छ। ‘ब्रेन्ट क्रूड’ तेलको मूल्य झन्डै ८ प्रतिशतले बढेर प्रति ब्यारेल १०२ डलर माथि पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य प्रति ब्यारेल १०३ डलर पुगेको छ। यो तनावले गर्दा आगामी दिनमा इन्धनको अभाव र मूल्यवृद्धि अझै बढ्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया