
अल्जेरियाको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै पोप लियो चौधौँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचनाबाट आफू विचलित नभएको स्पष्ट पारेका छन् । उनले भने , “म ट्रम्प प्रशासनसँग डराउँदिन। सुसमाचार (बाइबलको सन्देश) र सत्यको पक्षमा म निडर भएर बोलिरहनेछु। गिर्जाघर( चर्च)ले जे गर्नुपर्ने हो, म त्यही गरिरहेको छु।”
जब पोपले शनिबार सेन्ट पिटर बासिलिकाबाट विश्वका नेताहरूलाई युद्ध अन्त्य गर्न आग्रह गरे पछि यो विवाद सुरु भएको हो । यद्यपि उनले इरान विरुद्धको युद्धमा अमेरिका र इजरायलको नाम सिधै लिएनन् , तर उनले भने , “अब युद्ध पर्याप्त भयो।” यस लगत्तै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा पोपलाई “कमजोर” र “परराष्ट्र नीतिमा असफल” भएको भन्दै टिप्पणी गरेका थिए ।
सोमबार पोपले आफ्नो भनाइ कसैलाई व्यक्तिगत आक्रमण गर्न नभई शान्तिको पक्षमा भएको बताए । “बाइबलले भन्छ— ‘शान्ति स्थापना गर्नेहरू धन्य हुन्’। म शान्तिको बाटो खोज्न र युद्धबाट जोगिन सधैँ आह्वान गरिरहनेछु,” उनले थपे । ट्रम्पको आलोचनाप्रति दुःख व्यक्त गर्दै पोपले आफ्नो धार्मिक सन्देशलाई राजनीतिसँग जोडेर हेर्नु गलत भएको बताए ।
पोप लियोले अगाडि भने उनको भूमिका राजनीतिक होइन र उनि राष्ट्रपति ट्रम्पसँग कुनै पनि प्रकारको विवादमा पर्न चाहदैनन् । उनका अनुसार धर्मको सन्देशलाई कसैले पनि दुरुपयोग गर्नु हुँदैन। संसारभर युद्धका कारण धेरै निर्दोष मानिसहरूले दुःख पाइरहेका र ज्यान गुमाइरहेकाले, कोही न कोही त यसको विरुद्धमा उभिनै पर्छ भन्ने उनको दृढ विश्वास छ।
अन्तमा, पोपले संवाद र आपसी सम्बन्धमार्फत समस्याको सही समाधान खोज्न र संसारमा शान्ति फैलाउन आफ्नो अभियान जारी राख्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया