
पूर्व विश्व हेभीवेट च्याम्पियन (भारी तौल समूहको विजेता)टाइसन फ्युरीले १६ महिनाको लामो विश्रामपछि ‘मुक्काबाजी गर्ने ठाउँ’ मा पुनरागमन गर्दै रुसी मुक्केबाज अर्सलानबेक मख्मुदोभलाई पराजित गरेका छन्। शनिबार राति लन्डनको टोटनह्याम हट्सपर रङ्गशालामा भएको खेलमा ३७ वर्षीय फ्युरीले सर्वसम्मत निर्णयका आधारमा जित हासिल गरे। ६०,००० दर्शकमाझ भएको यो भिडन्तमा फ्युरीले सुरुदेखि नै खेल नियन्त्रणमा राखेका थिए।
फ्युरीले आफ्ना विपक्षी मख्मुदोभलाई अङ्कको आधारमा निकै पछि पारे। निर्णायकहरूले फ्युरीको पक्षमा १२०-१०८, १२०-१०८ र ११९-१०९ को अङ्क दिएका थिए। पछिल्ला दुई खेलमा ओलेक्सान्डर उसिकसँग पराजित भएका फ्युरीका लागि यो जित निकै महत्वपूर्ण मानिएको छ। खेल हेर्न उनका पुराना प्रतिद्वन्द्वी एन्थोनी जोशुवा पनि रिङ अर्थात् ‘मुक्काबाजी गर्ने ठाउँ’ को छेउमै उपस्थित थिए।
जितपछि फ्युरीले जोशुवालाई सिधै चुनौती दिए। उनले भने, “अब म तपाईहरूले लामो समयदेखि पर्खिरहेको खेल दिन चाहन्छु। एन्थोनी जोशुवा, म तिमीलाई चुनौती दिन्छु, आऊ हामी ‘ब्याटल अफ ब्रिटेन’ खेलौँ। यस पटक मबाट नभाग।”
यद्यपि, जोशुवाले तुरुन्तै चुनौती स्वीकार गरेनन्। उनले सम्झौता र वार्ता प्रक्रिया बाँकी रहेको बताउँदै आफू केवल चर्चा कमाउनका लागि नभई साँचो अर्थमा लड्नका लागि तयार रहेको प्रतिक्रिया दिए। नेटफ्लिक्सले भने यी दुईबीचको बहुप्रतिक्षित भिडन्त यसै वर्षको सेप्टेम्बर वा शरद ऋतुमा हुन सक्ने संकेत गरेको छ।
यो खेल सम्भवतः डब्लिनको क्रोक पार्क स्टेडियम(रङ्गशाला)मा हुन सक्छ। ६ वर्षदेखि यी दुईबीच खेल गराउने प्रयास भए पनि विभिन्न कारणले सफल हुन सकेको थिएन।
फ्युरीले आफ्नो यो जित स्वर्गीय मुक्केबाज रिक्की ह्याटनलाई समर्पित गरे। “खेलको समयमा फ्युरीको छिटो चल्ने शैली र राम्रो चाल अझै पनि उत्तिकै राम्रो देखिन्थ्यो। यसले उनी अझै पनि मुक्केबाजीको सबैभन्दा राम्रो खेलाडी हुन् भन्ने कुरा प्रमाणित गरेको छ।”
प्रतिक्रिया