
अमेरिकाको न्यु जर्सी राज्य अन्तर्गत युनियन टाउनसिप(उप नगर)मा रहेको प्रसिद्ध ‘चिक-फिल-ए’ रेस्टुरेन्ट(चमेनागृह )भित्र शनिबार राति भीषण गोलीकाण्ड भएको छ। स्थानीय अधिकारीहरूका अनुसार यस दुखद घटनामा एक जनाको ज्यान गएको छ भने कम्तीमा सात जना घाइते भएका छन्।
अभियोजक कार्यालयले दिएको जानकारी अनुसार यो घटना शनिबार राति करिब ९ बजेतिर भएको हो। उक्त समयमा चमेनागृह (रेस्टुरेन्ट )ग्राहकहरूले भरिएको थियो। घटना लगत्तै प्रहरीले चमेनागृह (रेस्टुरेन्ट)लाई चारैतिरबाट घेरेर ‘लकडाउन’ अर्थात् बन्दाबन्दी गरेको थियो। एबिसीन्यूजका अनुसार आइतबार दिउँसोसम्म पनि यस मामिलामा कसैलाई पक्राउ गरिएको छैन, तर प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ।
न्यु जर्सीकी गभर्नर मिकी शेरिलले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइते र उनीहरूका परिवारप्रति सहानुभूति प्रकट गरेकी छन् । उनले स्थानीय प्रशासन र प्रहरीसँग आफू निरन्तर सम्पर्कमा रहेको बताएकी छन् ।
प्रारम्भिक अनुसन्धानबाट यो कुनै अचानक गरिएको हिंसा नभई योजनाबद्ध हुनसक्ने देखिएको छ। प्रहरीका अनुसार सर्वसाधारणका लागि अहिले कुनै तत्कालै खतरा छैन् । चमेनागृहमा कार्यरत एक कर्मचारीका बुबाले बताए अनुसार, उनका छोराले अत्तालिँदै दूरवार्ता (फोन )गरेर मुखावरण (मास्क) लगाएका धेरै व्यक्तिहरू भित्र छिरेर गोली चलाएको जानकारी दिएका थिए। ती बुबाका अनुसार उनका छोराका कैयौँ सहकर्मीहरू पनि यस गोलीकाण्डमा घाइते भएका छन्।
एक लिफ्ट चालकले आफूले चमेनागृह (रेस्टुरेन्ट )नजिकै कम्तीमा सात पटक गोली चलेको आवाज सुनेको बताएका छन्। उनी चमेनागृहमा बर्गर किन्न जाँदै गर्दा प्रहरी र भागदौड मच्चिएको देखेका थिए।
अहिले युनियन काउन्टी अपराध रोक्नेले अपराधीलाई समात्न मद्दत गर्ने सूचना दिने व्यक्तिलाई १०,००० डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ। प्रहरीले समुदायका मानिसहरूलाई सतर्क रहन र कुनै पनि जानकारी भएमा तुरुन्त खबर गर्न आग्रह गरेको छ।
प्रतिक्रिया