
न्यूयोर्क: Madheshi Association in America (MAA) को NY/NJ च्याप्टरद्वारा होली (फागु पूर्णिमा) महोत्सव २०२६ न्यूयोर्कमा भव्य तथा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। सांस्कृतिक नृत्य तथा पारम्परिक खानपानका विविध स्वादिष्ट परिकारसहित सम्पन्न उक्त कार्यक्रममा सयौं समुदाय सदस्यहरूको उल्लेखनीय सहभागितामा उत्साहपूर्ण रूपमा मनाइयो।

कार्यक्रमका प्रमुख अतिथि माननीय Dadhiram Bhandari, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने MAA केन्द्रिय समितिका अध्यक्ष मनोज सिंहद्वारा रंग लगाएर औपचारिक शुभारम्भ गरिएको थियो। आफ्नो मन्तव्यमा महावाणिज्यदूतज्यूले विदेशमा बसेर नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै MAA को प्रयासको प्रशंसा गर्नुभयो।

कार्यक्रमको सभापतित्व MAA NY/NJ च्याप्टरका अध्यक्ष कुण्डल साहले गर्नुभएको थियो। कार्यक्रममा Madheshi Association in America का अध्यक्ष मनोज सिंह, NRNA USA का अध्यक्ष सतेन्द्र शाह, MAA बोर्ड अफ ट्रस्टीका संस्थापक अध्यक्ष डा. बिनोद शाह, MAA सल्लाहकार संयोजक अमित प्रताप शाह, Non-Resident Nepali Association NCC USA की महिला सचिव लक्ष्मी थापा, NRNA NCC USA न्यूयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने तथा MAA NY/NJ का पूर्व अध्यक्ष सुभाष शाहलगायत विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। वक्ताहरूले होली पर्वले आपसी सद्भाव, समानता र सामाजिक एकताको सन्देश दिने उल्लेख गर्दै समुदायबीच सहकार्य र एकताको भावना अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा एन्जेला साहद्वारा प्रस्तुत स्वागत नृत्य तथा होली विशेष सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए, जसले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाउँदै कार्यक्रममा थप उत्साह र रौनक थपेको थियो। कार्यक्रमको सञ्चालन MAA NY/NJ का उपाध्यक्ष राजेन्द्र महतोले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन MAA NY/NJ च्याप्टरका अध्यक्ष कुण्डल साहले गर्नुभएको थियो।

रंगहरूको उल्लासपूर्ण आदान–प्रदान, संगीत तथा नृत्य प्रस्तुति र पारम्परिक परिकारहरूको स्वादसँगै सम्पन्न उक्त होली महोत्सवले न्यूयोर्कस्थित नेपाली तथा मधेशी समुदायबीच एकता, भाइचारा र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।

MAA NY/NJ च्याप्टरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, स्वयंसेवक, कलाकार, प्रायोजक, मिडिया प्रतिनिधि तथा समुदाय सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।





प्रतिक्रिया