
अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विजरल्याण्ड पुगेका छन्। त्यहाँ उनले इरानसँग युद्ध अन्त्य गर्ने अन्तरिम सहमतिलाई अगाडि बढाउने उद्देश्यले उच्चस्तरीय वार्ता सुरु गरेका छन्। यहीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै लेबनानमा सक्रिय इरान समर्थित समूहहरूलाई तत्काल आक्रमण रोक्न आग्रह गरेका छन्।
ट्रम्पले आफ्नो सन्देशमा भनेका छन्, “इरानले लेबनानमा रहेका आफ्ना राम्रो तलब पाउने समर्थित समूहहरूलाई तुरुन्त समस्या सिर्जना गर्न रोक्नुपर्छ। यदि त्यसो भएन भने, गत साता भन्दा अझ कडा रूपमा इरानमाथि कारबाही गरिनेछ।”
उपराष्ट्रपति भान्सले स्विजरल्याण्डको ल्युसर्न ताल नजिकै रहेको पहाडी विलाशिता अतिथी गृह(रिसोर्ट)मा इरानका संसदका सभामुख मोहम्मद बाघेर घालिबाफ र विदेशमन्त्री अब्बास अराघचीसँग प्रत्यक्ष वार्ता गरिरहेका छन्।
यस वार्तामा पाकिस्तान र कतारका प्रतिनिधिहरूले मध्यस्थकर्ताको भूमिका निभाइरहेका छन्।
अमेरिकाले इरानको परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र प्रयोग हुने सुनिश्चित गर्न चाहेको छ।
तर इरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ।
एपिका अनुसार यसका साथै अमेरिका हर्मुज जलडमरूमध्य खुला राख्ने विषयमा पनि इरानको प्रतिबद्धता चाहन्छ। विश्वको करिब २० प्रतिशत तेल यही समुद्री मार्गबाट ओसारपसार हुने भएकाले यसको सुरक्षा विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।
यद्यपि लेबनानमा इजरायल र इरान समर्थित हेज्बुल्लाहबीच समय–समयमा भइरहेका झडपले यी वार्तालाई जटिल बनाउने खतरा देखिएको छ।
यसले अमेरिका र इरानबीच विश्वास निर्माण गर्ने प्रयासलाई चुनौती दिन सक्ने विश्लेषण गरिएको छ।
वार्ताको सुरुवातमा उपराष्ट्रपति भान्सले भने, “अब हाम्रो अगाडि प्रश्न छ—हामी मिलेर अझ के गर्न सक्छौं? के हामी नयाँ अध्याय सुरु गर्न सक्छौं?” उनका अनुसार दुवै देशले तनाव कम गर्दै भविष्यमा स्थायी समाधान खोज्ने अवसरको सदुपयोग गर्नुपर्ने बेला आएको छ।
प्रतिक्रिया