अमेरिकाको युटाहको साल्ट लेक शहर स्थित अन्त्येष्टि कार्यक्रम बाहिर गोलीकाण्ड हुँदा २ जनाको मृत्यु, ६ घाइते

इनेप्लिज २०८२ पुष २४ गते ११:१९ मा प्रकाशित

अमेरिकाको युटाह राज्यको साल्ट लेक सिटी(शहर)मा बुधबार साँझ गोली काण्ड हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

एक गिर्जाघर (चर्च)मा चलिरहेको अन्त्येष्टि कार्यक्रम बाहिर अचानक गोली चलेपछि २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका हुन् । यो घटना स्थानीय समयअनुसार साँझ ७:३० बजे रिडवुड सडकमा रहेको चर्च अफ जेसस अफ ल्याटर दे सेन्ट्स नामक गिर्जाघर(चर्च)मा भएको हो।

प्रहरीका अनुसार, अन्त्येष्टि समारोह चलिरहेको बेला सवारी साधन अड्डा (पार्किङ) क्षेत्रमा केही व्यक्तिहरूबीच झगडा भयो। त्यसपछि अचानक गोली चलाइयो। घटनामा घाइते भएका ६ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ भने बाँकी ३ जनाको अवस्था अझै स्पष्ट छैन।

हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। एबिसीन्यूजले प्रहरीलाई शंकास्पद व्यक्ति एक जना हो या धेरै जना भन्ने कुरा पनि अझै निश्चित नभएको जनाएको छ । यस घटनापछि श हरभरि ठूलो खोजी अभियान सुरु गरिएको छ।

गिर्जाघरका प्रवक्ता साम पेनरोडले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भने, “पूजा र शान्तिका लागि बनाइएको पवित्र स्थलमा यस्तो हिंसा हुनु अत्यन्तै दुःखद कुरा हो।” उनले पीडित सबैका लागि प्रार्थना गरिएको बताएका छन्।

यो घटनाले शहरलाई मात्र होइन, सिंगो देशलाई नै स्तब्ध बनाएको छ। अन्त्येष्टि जस्तो शान्त र भावुक कार्यक्रममा यस्तो हिंसा हुनु सबैका लागि पीडादायक बनेको छ।

प्रतिक्रिया