दुई देशबीचको दूरी मेटिँदै: ट्रम्प र कोलोम्बियाका राष्ट्रपति बीच ऐतिहासिक दूरवार्ता संवाद

इनेप्लिज २०८२ पुष २४ गते १:०७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलोम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग दूरवार्ता भएको जानकारी दिएका छन्। ट्रम्पका अनुसार यो कुराकानी निकै सुखद र महत्वपूर्ण रह्यो। केही समयदेखि अमेरिका र कोलोम्बियाबीच लागुऔषध नियन्त्रण र अन्य केही विषयमा असहमति र विवादहरू चल्दै आएका थिए।

राष्ट्रपति पेट्रोले आफैँ दूरवार्ता (फोन) गरेर ती विवादहरू र लागुऔषधको समस्याबारे स्पष्ट पारेपछि ट्रम्पले खुसी व्यक्त गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् , “कोलोम्बियाका राष्ट्रपतिसँग कुरा गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो। उनले जसरी म सँग कुरा गरे, मलाई त्यो शैली निकै मन पर्यो।”

अब यी दुई नेताहरू निकट भविष्यमै एक-अर्कालाई भेट्ने तयारीमा छन्। यो महत्वपूर्ण भेटघाट अमेरिकाको राजधानी वासिङ्टन डी.सी. स्थित ‘ह्वाइट हाउस’ मा हुनेछ। भेटघाटको वातावरण मिलाउन र आवश्यक तयारी गर्न अमेरिकाका विदेश सचिव मार्को रुबियो र कोलोम्बियाका विदेश मन्त्री सक्रिय रूपमा लागिरहेका छन्।

यो कुराकानीले दुई देशबीचको चिसो सम्बन्धलाई सुधार्ने र लागुऔषध जस्ता गम्भीर समस्या समाधान गर्न मिलेर अगाडि बढ्ने संकेत दिएको छ।

प्रतिक्रिया